‘प्रदर्शनीले उपभोक्ताको कुतूहल सम्बोधन गर्नेछ’

व्यवसायीका भिडमा एक शिक्षित र युवा व्यवसायीका रूपमा परिचित नाम हो सौरभ ज्योति । व्यावसायिक घरानामा जन्मे हुर्केका तथा निष्पक्ष र क्रियाशील भएकै कारण व्यावसायिक भिडमा उनको छुट्टै पहिचान छ । त्यसो त उनी प्रस्ट वक्ता र नेतृत्वदायी क्षमताका कारण पनि आफ्नो स्थान अग्रस्थानमा राख्न सफल भएका छन् । सौरभ ज्योति अहिले नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष छन् भने ज्योति ग्रुपअन्तर्गतको स्याकार कम्पनीका समेत अध्यक्ष हुन् । मुलुकको अर्थव्यवस्था उकास्न निजी क्षेत्रको भूकिमा महत्त्वपूर्ण हुने तर्क राख्ने उनीसाग नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा राजधानीमा सुरु भएको नाडा अटो सोबारे गरिएको संक्षिप्त कुराकानी :
प्रदर्शनीको मुख्य उद्देश्य के हो ?
नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा प्रत्येक दुई वर्षमा हुँदै आएको यो प्रदर्शनी गत वर्षदेखि प्रत्येक एक वर्षमा हँुदै आएको छ । हामीले हरेक वर्ष यो प्रदर्शनीका माध्यमबाट विभिन्न जनचेतनामूलक नारा अघि सार्दै आइरहेका छौँ । यस वर्ष पनि हामीले मुख्य दुईवटा नारा अघि सारेर प्रर्दशनी सुरु गरेका हौँ । सडक सुरक्षा र सफा तथा हरित सहर अहिलेको मुख्य नारा हो । खासगरी सडक सुरक्षा, वातावरण संरक्षण, ट्राफिक नियमजस्ता महत्त्वपूर्ण विषयमा विभिन्न माध्यमबाट व्यापक सूचना प्रवाह गर्ने र अटो व्यवसायीले आफ्ना उत्पादन तथा सेवा ग्राहकसमक्ष पुर्‍याउने र उपभोक्ताको कौतुहललाई सम्बोधन गर्ने उद्देश्यले नै यो प्रदर्शनी आयोजना भएको हो ।
प्रदर्शनीको मुख्य आकर्षण के हो ?
उपभोक्ताले खोजेको र रोजेको सेवा तथा वस्तु सहज ढंगबाट पाउने र विभिन्न व्यवसायीले समेत आफ्ना उत्पादन पस्कने अवसर यो प्रर्दशनीले दिएको छ । साथै स्वदेशी उत्पादनका सामग्रीलाई प्रवद्र्धन गर्ने तथा ती उत्पादनमा उपभोक्ता वर्गको पहुँच विस्तार गर्ने काम मेलाबाट हुने छ । अहिले पनि वार्षिक रूपमा अटो मोबाइल क्षेत्रबाट करोडाँै राजस्व उठ्ने गरेको छ तर त्यसको सदुपयोग सही ठाउँमा नभएकाले राज्यलाइ समेत थप जिम्मेवार बन्न प्रर्दशनीले सहयोग गर्ने हाम्रो अपेक्षा छ । प्रदर्शनीमा नयाँ गाडी, प्रविधि, पार्टपुर्जा, फाइनान्स, इन्सुरेन्स, एक्सचेन्ज लगायत सुविधा उपलब्ध छन् ।
कतिवटा कम्पनीको सहभागिता छ ?
प्रदर्शनीमा विभिन्न ५५ कम्पनीको सहभागिता छ भने २४ वटा सवारी साधनका उत्पादक ब्रान्ड रहने छन् । यस्तै, पार्टपुर्जा, जेनेरेटर, लुब्रिकेट्स, ग्यारेज, उपकरण, बिमा तथा अन्य वित्तीय संस्था रहने छन् । ठूला/साना गरी एक सय स्टल र ब्लक रहने छन् । यहाँ नेपालसहित भारत, चीन, कोरिया, जर्मनी, अमेरिका, चेक गणराज्य, मलेसिया, ताइवान, जापानलगायत मुलुकका प्रख्यात सवारीसाधन उत्पादकको सहभागिता रहने छ । मेलामा हामीले करिब ५० हजार आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया