सरकारी सहुलीयत विद्यार्थीद्वारा अस्वीकार

काठमाडौं, ३ असोज । पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य बृद्धिको विरोध गर्दै आएका विपक्षी दल सम्बद्ध नौं विद्यार्थी संगठनले सहुलीयतका नाममा सरकारले दिएको राहतको आलोचना गरेका छन् ।
सरकारी सहुलीयतको विरोधमा पुनः बस्ने बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई विभाजन गर्ने गरेर सरकारले दिएको सहुलीयत नमान्ने निर्णय भएको छ ।
काठमाडौंमा आज बसेको ९ विद्यार्थी संगठनको बैठक पछि जारी विज्ञप्ति अनुसार सरकारले विगतका सहमतिलाई उलंघन गरेको आरोप छ । विगतमा विद्यार्थी, किसान र मजदुरलाई पेट्रोलियमा पदार्थमा ३३ प्रतिशत सहुलीयत दिन भएको निर्णयलाई सरकारले वेवास्ता गरेको विद्यार्थी संगठनहरुको आरोप छ ।
मूल्य बृद्धिको विरोध भए पछि सरकारले विद्यार्थीलाई वर्षमा खाना पकाउने ४ सिलिन्डर ग्याँसमा २ सय ५० र मट्टितेलमा प्रति लिटर १० रुपियाँका दरले सहुलियत दिने निर्णय गरेको थियो । सरकारको सो निर्णय अपूर्ण र अप्र्याप्त भएको ठहर गर्दै बैठकले तत्काल विगतको सहमतिलाई कार्यन्वय गर्न माग गरेको छ ।
उनीहरुले उच्च माध्यामिक विद्यालय शिक्षा परिषद् भित्रका समस्या र अनियमितताहरुलाई छिटो समाधान गर्न आग्रह गरेका छन् ।
सिटिईभिटि र हालै त्रिभुवन विश्वविद्यालयले गरेको शुल्क वृद्धिप्रति पनि नौं विद्यार्थी संगठनले खेद प्रकट गरेका छन् । उनीहरुले बृद्धि भएको शुल्क तत्काल खारेज गर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया