शीर्ष बैठक सहमतिमा पुग्न सकेन

काठमाडौं, २ असोज । कुनै ठोस सहमति बिनानै प्रमुख दलका शीर्ष नेताहरुको बैठक बुधबारसम्म स्थगित भएको छ ।
काठमाडौंमा आज बसेको शीर्ष बैठकमा निकासका विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको हो । बैठकमा संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन मध्ये कुन विकल्पमा जाने भन्ने विषयमा छलफल भए पनि सहमति नभएको नेताहरुको भनाई छ ।
संविधानसभा विघटन हुनु अघि प्रमुख दलहरुका बीच भएको पाँच बुँदे सहमतिलाई आधार बनाएर जान कांग्रेस र एमालेले बैठकमा प्रस्ताव गरेका छन् । प्रस्तावमा एमाओवादी र मधेसी मोर्चाले खासै चासो नदिएको कांग्रेस नेताहरुको भनाई छ ।
राज्य पुनःर्संरचना गर्ने क्रममा प्रदेशको नाम बहुपहिचान सहित राख्नु पर्ने भन्दै अधिकतम १२ प्रदेश सम्म बनाउने विषयमा पनि छलफल भएको थियो । नाममा विवाद भए त्यसको जिम्मेवारी प्रादेशिक सदनलाई दिनु पर्ने कांग्रेस र एमालेको सुझावलाई पनि एमाओवादी र मधेसी मोर्चाले सहमति जनाउन सकेनन् ।
दलहरुले पुनः आन्तरिक छलफल गरेर बुधबार ठोस सहमति गर्ने गरेर बैठक स्थगित गरेको जनाएका छन् । दलहरुले सहमति हुन नसके नयाँ निर्वाचनमा जाने दोहराएका छन् ।

बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया