माथिल्लो अरुण र तामाकोसी–भी बनाउन प्रस्ताव

काठमाडौं, १ असोज । सरकारले दुई ठूला आयोजना निर्माणका लागि चीन सरकारसँग प्रस्ताव गरेको छ ।
चीन सरकार दुई आयोजना निर्माणका लागि सहुलियत दरमा ऋण दिन सकारात्मक भएपछि सरकारले प्रस्ताव गरेको हो । नेपाल विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयमार्फत तीन सय ३५ मेगावाटको माथिल्लो अरुण र ८७ मेगावाटको तामाकोसी–भी निर्माणका लागि प्रस्ताव गरेको प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए । ‘हामीलाई अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयमार्फत दुई आयोजना मगाएको थियो, हामीले माथिल्लो अरुण र तामाकोसी–भी बनाउन प्रस्ताव पठाएका छौँ,’ उनले भने । अर्थ मन्त्रालयले यी दुई आयोजनाबारे चीन सरकारसँग छिट्टै छलफल गरेर टुंग्याउने जनाएको छ ।
प्राधिकरणले नै सन् १९९१ मा सम्भाव्यता अध्ययन गरिसकेको अपर अरुण आयोजना आकर्षक आयोजनाका रूपमा लिइन्छ । प्राधिकरणका अनुसार सो आयोजना निर्माण गर्दा डुबान क्षेत्र कम पर्छ भने अध्ययनको आधारमा हालसम्मकै सबैभन्दा सस्तो आयोजनामध्ये एक हो । तीन सय ३५ मेगावाटको सो आयोजनाको लागत पाँच सय ३४ मिलियन डलर र पर–मेगावाट एक हजार पाँच सय डलर पर्ने अनुमान गरिएको छ । प्रस्तावमा ९० प्रतिशत सहुलियत ऋणका लागि अनुरोध गरिएको छ । प्रस्तावमा १५ प्रतिशत अनुदानका लागिसमेत अनुरोध गरिएको छ ।
संखुवासभाको किमथांका, चेपुवा, हटिया र पाथीभरा गाविसमा बन्ने आयोजना साढे चार वर्षभित्र बनाउन सकिने प्रस्ताव पनि प्राधिकरणले पठाएको छ ।
यस आयोजना क्षेत्रका बासिन्दाले छिटो आयोजना बनाउन माथिल्लो अरुण सरोकार मञ्चसमेत गठन गरेका छन् तर मञ्च खासै क्रियाशील भएको छैन ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेट आयोजनाका रूपमा रहेको तामाकोसी–भी आयोजनाको अवधि पनि चार वर्षे हुने प्रस्तावमा उल्लेख छ । २.६३९ डलर खर्च लाग्ने अनुमान गरिएको आयोजना दोलखामा निर्माण हुन लागेको हो ।
दुवै आयोजनालाई चीन सरकारले सहुलियत ऋण दिनका लागि सकारात्मक भएकाले आयोजना अघि बढाउनका लागि प्राधिकरण अघि बढेको छ तर आकर्षक र सस्तो आयोजना भए पनि माथिल्लो अरुण आयोजनाको लाइसेन्स अहिलेसम्म प्राधिकरणले पाउन सकेको छैन ।

प्रतिक्रिया