दुर्घटनामा सशस्त्रका सातसहित आठको मृत्यु

बुटवल, ३० भदौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको बरकुलपुर–८ चम्पापुरमा प्रहरी भ्यान र बस एकापसमा ठोकिँदा सशस्त्र प्रहरीका चारसहित पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् ।
गस्तीमा गएको सशस्त्र प्रहरी बिन्दवासिनी गण चन्द्रौटाको ना.१ग ५८७ नम्बरको पिकअप भ्यान तथा दाङबाट बुटवल आइरहेको लु.१ख ३५१९ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किएको हो ।
दुर्घटनामा परेर सशस्त्रका वरिष्ठ हवल्दार हस्तबहादुर विक, प्रहरी जवानहरू गोविन्द खत्री, अंकलाल चौधरी, शिवु चौधरी, दीपक बुढा, खगेन्द्र खड्का र हेमन्त थारूको मृत्यु भएको छ । यस्तै, बसका चालक दाङ लम्तियाका चूडामणि पोखरेलको पनि मृत्यु भएको छ ।
दुर्घटनामा दुईजनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सशस्त्र प्रहरीका २० जवान घाइते भएको बिन्दवासिनी गण चन्द्रौटाले जानकारी दिएको छ । उनीहरूमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुईजनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने १२ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको भ्यानमा २६ जना सवार रहेको बताइएको छ । यात्रु बसमा भने कति यात्रु सवार थिए भन्ने खुलेको छैन । बसमा सवारमध्ये २४ जना घाइते छन् ।
दुर्घटनालगत्तै गोरुसिंगे तथा चन्द्रौटाबाट पुगेको सुरक्षाकर्मीले घाइतेको उद्धार गरेको थियो । घाइतेहरूको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भएको छ ।
यसैबीच, सशस्त्र प्रहरीले दुर्घटनाको छानबिनका लागि समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया