दुर्घटनामा चार सशस्त्र सहित पाँचको मृत्यु

बुटवल, २९ भदौ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत कपिलवस्तुको बरकुलपुर–८, चम्पापुरमा सशस्त्र प्रहरीको भ्यान र यात्रु बाहक बस एकआपसमा आज जुध्दा चार सुरक्षाकर्मी सहित ५ जनाको मृत्यु भएको छ ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बिन्दबासिनी गण चन्द्रौटाको ना १ ग ५८७ नम्बरको सशस्त्र प्रहरीको पिकअप भ्यान तथा दाङ्गबाट बुटवल तिर आइरहेको लु १ ख ३५१९ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार हस्तबहादुर विक, जवानहरु अंगलाल चौधरी, शिव चौधरी र गोबिन्द खत्रीको मृत्यु भएको छ । दुर्घटनामा यात्रु बाहक बसमा सवार दाङ्ग लालमटियाका चुडामणि पोखरेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका विक र चौधरीको घटनास्थलमै मृत्य भएको थियो भने अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सशस्त्र प्रहरीका १८ जवान घाइते भएको विन्दबासिनी गण चन्द्रौटाले जानकारी दिएको छ । प्रहरीको भ्यानमा २६ जना सवार रहेका थिए ।
यात्रु बसमा भने कति जना सवार थिए भन्ने खुलेको छैन् । बसमा सवारमध्ये २४ जना घाइते छन् ।
सशस्त्र प्रहरी जवानहरु दिलिप हरिजन, हेमन्त थारु, ललित कोहार, दिनेश केसी, प्रेम सिंह, गमबहादुर थापा, विजयसिंह थापा, शेरबहादुर खडका, ज्ञानेन्द्र मौर्य, अर्जुनकुमार चौधरी, अदालत चौधरी र नवीनकुमार सोनी घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी बसका चालक लक्ष्मण भण्डारी, यात्रुहरु गुल्मी रुरुका रामजी ज्ञवाली, कृष्ण पोखरेल, कपिलवस्तुका टोपेन्द्रप्रताप सिंह, खुमकुमारी सेन, दाङका गीता अधिकारी र हेमा केसी घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक यमप्रसाद घर्तीले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
दुर्घटना लगत्तै गोरुसिंगे तथा चन्द्रौटाबाट पुगेका सुरक्षाकर्मीले घाइतेहरुको उद्धार गरेका थिए ।
तीब्र गतिमा आएको यात्रुबाहक बसले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीको प्ररम्भीक अनुसन्धानले जनाएको छ ।
समयमा बुटवल पुराउनै पर्ने भन्दै चालकले बस तिब्र गतिमा चलाएका कारण दुर्घटना भएको घाइतेहरुको बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया