टौरस फर्मालाई जिएमपी

काठमाडौं : औषधि उत्पादक कम्पनी टौरस फर्माले उत्पादन सुरु गरेको डेढ वर्षमै विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन संहिता (डब्लुएचओ जिएमपी) प्राप्त गरेको छ । कम्पनी स्थापनाको यति छोटो अवधिमा जिएमपी पाउने यो पहिलो कम्पनी हो ।
निरन्तर गुणस्तरीय औषधि उत्पादन गर्न सक्ने पूर्वाधार, उपकरण र कच्चापदार्थमा आस्वस्थ हुन सक्ने अवस्थामा औषधि व्यवस्था विभागले जिएमपी प्रदान गर्ने गर्छ । धादिङको धार्केमा रहेको फर्माले हाल ३५ ब्रान्डका औषधि उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अमित अग्रवालले बताए । उनका अनुसार हाल कम्पनीले एन्टिबायोटिक, पेनकिलर, भिटामिन औषधि ट्याबलेट र क्याप्सुलमा उत्पादन गर्दै आइरहेको छ । यसका अलावा कम्पनीले ओआरएस (झाडापखालाको औषधि) पनि उत्पादन गर्दै आइरहेको कम्पनीले जनाएको छ । जिएमपी पाएपछि थप जिम्मेवारी बढेको मर्फाका निर्देशक अग्रवालले बताए । उनले भने, ‘छोटो समयमै जिएमपी प्रमाणपत्र पाएपछि हामीमा थप जिम्मेवारी थपिएको छ ।’ उनका अनुसार कम्पनीले एक वर्षभित्र मधुमेह, मानसिक रोग, एन्टी अक्सिडेन्ट र उच्च रक्तचापका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ । (सौस)

प्रतिक्रिया