रहेनन् गणतन्त्रवादी नेता सिंह

काठमाडौं, २७ भदौ । गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको ७७ वर्षको उमेरमा आज निधन भएको छ ।
शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सिंहको आज विहान ६ वजे निधन भएको आफन्तले जनाएका छन् ।
मृगौला र हाड तथा नसासम्बन्धी रोगबाट सिंह विरामी थिए । सप्तरी निवासी सिंहको स्वास्थ्यमा खरावी आएपछि भदौ–१७ गते शिक्षण अस्पता भर्ना गरिएको थियो । पछिल्लो समय उनी उच्चरक्तचाप, गोडा नचल्ने, पिसाव बन्द हुने समस्याबाट समेत पीडित थिए ।
यसैवीच, सरकारले सिंहलाई ‘राष्ट्रगौरव’बाट सम्मान गरेको छ । मन्त्रिपरिषद्को आजै बसेको आकस्मिक बैठकले सिंहलाई गणतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व भएको भन्दै सो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
यसअघि ‘राष्ट्रगौरव’ सम्मानबाट सर्वमान्य नेता गणेशमान सिंहलाई विभुषित गरिएको थियो ।
सम्मानसँगै सिंहको अन्त्यष्टी राजकीय सम्मानका साथ हुने छ । उनले १३ तोपको सलामी पाउन छन् ।
सिंहको निधन पछि कामचाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका शुभेच्छेक शिक्षण अस्पताल पुगेका थिए ।
पञ्चायती शासन व्यवस्थाका समयमा गणतन्त्रका पक्षमा भन्दै मुलुकका विभिन्न स्थानमा बम विष्फोट गराएका सिंह पहिलो राष्ट्रपति चुनावमा एमाओवादीका तर्फबाट उम्मेदवार थिए । उनी राष्ट्रपति डा.रामवरण यादवसँग पराजित भएका हुन् ।

प्रतिक्रिया