दाइजो नल्याएको आरोपमा कुटपिट

राजविराज, २६ भदौ । मागेजति दाइजो नल्याएको आरोपमा सप्तरीमा एक महिलामाथि कुटपिट भएको छ ।

लौनिया–५ की लक्ष्मी मण्डललाई घरपरिवारका सदस्यले निर्घात कुटपिट गरेका हुन् । २७ वर्षीय पति श्रीराम मण्डल तथा सासूससुराले उनलाई कुटपिट गरेका हुन् ।
पति तथा सासूससुराको कुटाइबाट अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेकी लक्ष्मीको अवस्था गम्भीर छ । पतिसहित परिवारका सबै सदस्यको मिलेमतोमा आफूलाई कुटपिट गरिएको पीडितले बताएकी छिन् । ‘घरको ढोका लगाएर सबैले हिर्काए,’ लक्ष्मीले भनिन्, ‘भनेजति दाइजो नल्याएको भन्दै पेटी र बेतको लठ्ठीले हिर्काए ।’ उनको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विवाह गरेको तीनचार महिनादेखि नै मोटरसाइकल, दुई तोला सुन र ५० हजार रुपियाँ लिएर आउनू भन्दै दुव्र्यहार गर्दै आएका परवारका सदस्यले आइतबारसहित चारपटक आफूमाथि कुटपिट गरेको लक्ष्मीले बताइन् । गरिबीका कारण थप दाइजो ल्याउन नसकेकै कारण आफूमाथि कुटपिट भएको उनको भनाइ छ । करिब एक वर्ष सम्पन्न विवाहमा दाइजोस्वरूप ५६ हजार रुपियाँ तथा आधा तोला सुनको गहना दिए पनि थप दाइजो नल्याएको भन्दै पटकपटक शारीरिक तथा मानसिक रूपमा तनाव दिने गरेको लक्ष्मीको आरोप छ ।
घरपरिवारका सदस्यले दाइजोका कारण कुटपिट गर्न थालेपछि पटकपटक छोरी भागेर माइत आउने गरे पनि आफूले नै सम्झाउँदै पुन: घर पठाउँदै गरेको तर यसपटक भने मार्ने हिसाबले कुटपिट गरेपछि प्रहरीमा उजुरी दिएको लक्ष्मीका पीता देवनारायण मण्डलले बताए । मण्डलले दिएको जानकारीअनुसार दुई महिनाअघि पनि श्रीरामले पत्नीलाई कुटेको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी परेको छ । प्रहरीले आइन्दा कुनै प्रकारको यातना नदिने कागज गराएर छाडे पनि पुन: घटना दोहोरिएको उनले बताए ।
घटनाको विषयमा आवश्यक अुनसन्धान सुरु गरिएको र दोषीलाई कडा कारबाही गरिने एसपी गणेशबहादुर थापा क्षेत्रीले बताए ।

पतिबाट कुटिइन्
कमल डाँगी

नेपालगन्ज, २६ भदौ । बाँके साईगाउँकी एक गर्भवती किशोरी पतिबाट निर्घात पिटिएकी छन् । साईगाउँ–४ की १७ वर्षीया सबाना अस्पसना कवाडियालाई १८ वर्षीय पति मोहमद राईले पेट र टाउकोमा लठ्ठीले कुटपिट गरेका हुन् ।
६ महिनाकी गर्भवती छोरी सबाना र आफूलाई शनिबार राईसहित उनको परिवार मिलेर निर्घात कुटपिट गरेको किशोरीका बाबु इसाक कवाडियाले बताए । छोरीलाई पिटेको देखेपछि बचाउन गएका बाबुलाई समेत राईका परिवारले कुटेका थिए । बाबु र छोरीको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बाबुको टाउकोमा तीन टाँका लगाइएको छ ।
विवाहपूर्व अवैध यौन सम्बन्ध राखेको भन्दै गाउँले मिलेर उनीहरूको विवाह गरिदिएका थिए । त्यसपछि १८ भदौमा गाविस सचिव माधव सिंहले विवाहदर्ता गरिदिएका थिए । युवतीका माइतीले छोरीलाई राईले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै घटना लुकाउन समाजका अगुवाले छोरीको नाबालिग उमेरमै विवाह गरिदिएको दाबी गर्दै आएका छन् ।
विवाहपछि राईले सबानालाई कुटपिट र दु:ख दिँदै आएका थिए । पीडित किशोरीले भनिन्, ‘मलाई उसले कहिल्यै राम्रोसँग खान पनि दिएन, सधँै कुटिराख्थ्यो ।’ उनले आफ्नो ज्यानसमेत असुरक्षित रहेको दु:खेसो पोखिन् । पतिको कुटपिटबाट गर्भ खेर गए/नगएको अस्पतालले जाँच गरिरहेको छ ।
पीडित युवतीका बाबु इसाकले ६ महिनाअघि आफू घरबाहिर भएका बेला राईले राति ११ बजे छोरीलाई घरबाट अन्तै लगेर जबर्जस्ती करणी गरेको र त्यसपछि समाजले विवाह गरिदिएको बताए । मुलुकी ऐन, बिहेबारीको महलअनुसार युवकको उमेर २१ वर्ष र युवती २० वर्षको हुनुपर्छ । नेपालगन्जका अधिवक्ता पदम पाण्डेले उमेर नपुगेकाको विवाह गैरकानुनी भएको ठहर्ने बताए । तर, साईगाउँका गाविस सचिव सिंहले नाबालिग उमेरमै विवाहदर्ता गरिदिएका छन् । ‘उमेर नपुगी विवाह गर्दा विवाहको चाँजोपाँचो मिलाउनेसम्म कारबाहीको भागिदार हुन्छ,’ पाण्डेले भने ।
नाबालिगलाई विवाहदर्ता दिने गाविस सचिव सिंहले भने आफूले चलेको चलन पालना गरेको दाबी गरे । उनले गाविस सचिवले घटना दर्ता गर्ने अधिकार रहेको तर त्यो वैध/अवैध के हो भन्ने हेर्न आवश्यक नभएको भन्दै आफ्नो बचाउ गरे । ‘यस्तो जन्मदर्ता त जहाँ पनि दिन्छन्,’ उनले भने ।
गाविस सचिव सिंहले सबानाले राईसँग राजीखुसी अवैध सम्बन्ध भएको स्वीकार गरेको पनि दाबी गरेका छन् । गाविस सचिव सिंहका अनुसार, पूर्वमन्त्री तथा मधेसी जनअधिकार फोरमका नेता इस्तियाक राईलगायतका गाउँका अगुवाले सबाना र राईबीच विवाह गराइदिनेदेखि विवाहदर्ता गराउनेसम्मको पहल गरेको बताए ।

प्रतिक्रिया