बेवारिसे १४ वटा शव एक महिनापछि गाडिए

चितवन, २५ भदौ । भरतपुर अस्पतालको शवगृहमा सडेर दुर्गन्धित अवस्थामा रहेका १४ वटा शव स्थानीय वनमा लगेर गाडिएको छ ।

विगत एक महिनादेखि बेवारिसे शव सडेर दुर्गन्ध फैलिएपछि भरतपुर–२ आपटारीस्थित जलदेवी सामुदायिक वनमा आइतबार एउटै खाल्डो खनेर पुरिएको हो । जिल्ला प्रहरी कार्यालयको रोहबरमा एक्जाभेटरको सहायताले एउटै खाल्डो खनी
शव पुरिएको थियो ।
वन उपभोक्ताले एक महिनाअघि शव गाड्न अवरोध पुर्‍याएपछि व्यवस्थापनमा कठिनाइ भएको थियो । जसका कारण अस्पताल परिसरमा शव सडेर दुर्गन्ध फैलिँदा कर्मचारी, बिरामी र कुरुवा सास्ती भोग्न बाध्य बनेका थिए । तल्काल दाउराको विकल्प नभएको भन्दै अन्तिमपटकका लागि
भरतपुर नगरपालिकाको अनुरोधमा वन व्यवस्थापनले शव गाड्न दिएको हो ।
‘यो हाम्रो अन्तिम अनुरोध हो, आगामी दिनमा शव जलाउने योजना छ,’ भरतपुर नगर–पालिकाका निमित्त कार्यकारी अधिकृत टीकाराम कँडेलले भने ।
शव जलाउनका लागि जिल्ला वन कार्यालयले प्रतिकिलो ६ रुपियाँले दाउरा किन्ने योजना बनाएकोसमेत जनाइएको छ ।
यसअघि नारायणीमा पुलबाटै खसालेर बेवारिसे शव फाल्ने गरिएकोमा गत वर्षदेखि विभिन्न स्थानमा गाड्ने गरिएको थियो । स्थानीय बासिन्दाको अवरोधपछि शव व्यवस्थापनमा समस्या
आएको थियो ।

प्रतिक्रिया