सय वर्ष पुराना ढल छन् राजधानी काठमाडौंमा

काठमाडौं, २४ भदौ । देशकै राजधानीलाई १ सय १५ वर्ष पुराना ढलले धानेको छ । ढल पुराना भएकै कारण कतै फुटेर त कतै थुनिएर एक घन्टा मात्र झरी परे पनि सडक नै ‘स्विमिङ पुल’ जस्तो बन्न थालेको छ ।

शताब्दी पुराना ढलको व्यवस्थापन गर्न नसक्दा वर्षातको समयमा राजधानीका सडक जलमग्न हुन थालेका हुन् । झरी पर्नासाथ जमल, माइतीघरमण्डलालगायत धेरै स्थानमा सडक जलमग्न भई हिँड्न समस्या पर्ने गरेको छ ।
जनसंख्या वृद्धिसँगै भवनको संख्या बढिरहे पनि ढलको व्यवस्थापन हुन नसक्दा समस्या आउन थालेको स्थानीयवासी बताउँछन् । जमलमा ढलको पाइप सानो भएको, त्यसमा पनि बाटोमा रहेका फोहोरका टुक्रा, माटोलगायतले पाइप बन्द भएकाले समस्या भएको हो ।
जमलमा पानी जम्ने भएका कारण विगतमा वर्षातको पानी रानीपोखरीमा मिसिने गरी निकास दिइएको थियो । जमलमा जम्ने पानी फिल्टर गरेर रानीपोखरीमा जम्मा गरिन्थ्यो तर पाइप बन्द भएपछि रानीपोखरी सुक्ने र जमल जलमग्न बन्ने गरेको छ । माइतीघरमण्डलाको पनि अवस्था उस्तै छ । मण्डलामा रहेका ढलका पाइप जिआई पाइपबाट बनेका छन् । जुन खिया लागेर फुटेका छन् । झरी पर्नासाथ पानी जमेर बाटो जलमग्न हुने गरेको छ । उक्त ढलको निकास टुकुचा खोलामा पुर्‍याइएको छ ।
इन्द्रचोक र असन क्षेत्रमा बिच्छ्याएका ढलमा भने समस्या आएको छैन । अहिलेका प्रविधिभन्दा पुराना ढल आरसिसी ह्युमपाइप (सिमेन्टबाट बनेका पाइप)ले तुलनात्मक रूपमा बलियो देखिएको काठमाडांै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता सुरेशप्रसाद आचार्य बताउँछन् । प्रवक्ता आचार्यका अनुसार केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले पुराना ढलका जिआई पाइपको अध्ययन गरिरहेको छ ।
महानगरपालिका र केयुकेएलको जुहारी
ढल फुटेर या थुनिएर राजधानीका सडक जलमग्न मात्र होइन, दुर्गन्धितसमेत हुने गरेको छ । तर समस्या समाधान गर्ने सम्बन्धित निकाय भने समस्या समाधानको साटो आरोप/प्रत्यारोपमै सीमित छन् ।
१ फागुन ०६४ मा स्थापनासँगै केयुकेएलले खानेपानीका पाइप र ढलको पुनर्निर्माण तथा मर्मतको जिम्मेवारी लिएको हो । यसका लागि महानगरपालिका र केयुकेएलबीच सम्झौता भएको थियो । ‘अबदेखि खानेपानी तथा ढलसम्बन्धी निर्माण तथा मर्मत–सम्भार गर्नुपरे खानेपानी लिमिटेडले जिम्मेवार भएर काम गर्नेछ,’ सम्झौतामा भनिएको छ ।
केयुकेएल उपभोक्ताबाट पैसा लिने र कामचाहिँ महानगरपालिकाबाट गराउने गरेको महानगरपालिकाको सडक तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख रवीन्द्र पौडेलको भनाइ छ । केयुकेएलका प्रवक्ता आचार्यले भने महानगरपालिकासँग कुनै सम्झौता नभएको दाबी गर्दै पुनर्निर्माण तथा मर्मतको काम आफूहरूले गरेको बताए ।

प्रतिक्रिया