एमालेका असन्तुष्ट नेता झन् असन्तुष्ट

काठमाडौं, २० भदौ । एमाले उपाध्यक्ष अशोक राईसहितका असन्तुष्ट नेता पार्टीबाट बाहिरिने निश्चित भएको छ । पार्टीले सोमबार अबेर पठाएको पत्रप्रति उपाध्यक्ष राईलगायत असन्तुष्ट नेताले नौबुँदे मागलाई पार्टीले लिखित रूपमा अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।

राईले पार्टी नेतृत्वले औचित्यहीन पत्र पठाएर अलमल्याउन खोजेको प्रतिक्रिया दिएका छन् । ‘मैले पत्र हेरेको छैन तर साथीहरूबाट बुझ्दा औचित्यहीन छ, हामीलाई अलमल्याउन खोजिएको छ,’ दोलखामा रहेका राईले मंगलबार साँझ सौर्यसँग भने, ‘अब हामी अल्मलिदैनौँ ।’ उनी नयाँ शक्ति निर्माणको अभियानका साथ दोलखा पुगेका रहेछन् ।
एमालेले उत्पीडितको अधिकार अस्वीकार गरेको दाबी गर्दै उनले अब उत्पीडितको नयाँ शक्ति बनाउने जानकारी दिए । उनले भने, ‘पार्टीले हाम्रो मुद्दालाई अस्वीकार गरिसकेको छ, अब वादविवाद र बहसको कुनै औचित्य छैन ।’
उपाध्यक्ष राई नेतृत्वको अग्रगामी विचार समूहले ३० जेठमा पार्टीसमक्ष नौबुँदे माग पेस गरेको थियो । करिब तीन महिनापछि पार्टी नेतृत्वले ‘वर्तमान परिस्थितिका सम्बन्धमा हाम्रो मत’ शीर्षकको १४ पृष्ठ लामो मागको उत्तर सोमबार नौ पृष्ठमा दिएको छ ।
असन्तुष्टले नौबुँदे मागपत्रमा एकल जातीय पहिचानका आधारमा राज्य पुन: संरचना, सविधानसभा पुन:स्थापना हुनुपर्नेलगायत माग राखेका थिए । सोमबारको पत्रमा एमालेले एकल पहिचानका आधारमा राज्य पुन:संरचना हुन नसक्ने अडान दोहोर्‍याएको छ ।
पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीले प्रश्नको उत्तरमात्रै दिएको तर माग सम्बोधन नगरेको बताए । ‘प्रश्नको उत्तर मात्रै दिइएको छ तर सम्बोधन गरेको छैन,’ नेता गुरुङले भने । गुरुङले तत्काल नयाँ पार्टी गठनमा चाहिँ असहमति जनाए । ‘अहिले पार्टी बनाउने होइन, अन्तरसंघर्ष नै जारी राख्ने हो,’ उनले भने, ‘नयाँ पार्टी बनाउन म सहमत छैन ।’
केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले पार्टीको उत्तर औचित्यहीन भएको दाबी गर्दै नयाँ शक्ति बनाएर अगाडि बढ्ने स्पष्ट पारे । ‘हाम्रो माग लिखित रूपमा अस्वीकार गरेर पार्टीले अन्तरसंघर्षको ढोका बन्द गरेको छ,’ नेता श्रेष्ठले भने । एमाले सात प्रदेशमा अडिग रहेको र जातीय पहिचान अस्वीकार गरिएको आसयसहितको पत्र आएको जानकारी दिँदै श्रेष्ठले मुख्य मागलाई अस्वीकार गरिएको पत्रको कुनै अर्थ नहुने बताए ।
केन्द्रीय सदस्य अजम्बर काङमाङ राईले पार्टीले दुई मुख्य माग अस्वीकार गरेको लिखित उत्तर दिएका कारण अब नयाँ पार्टी बनाएर जाने बताए । ‘हाम्रो दुई हिरो माग जातीय पहिचानसहितको १४ प्रदेश र सविधानसभा पुन:स्थापनाको मागलाई पार्टीले लिखित रूपमा अस्वीकार गरेको छ,’ उनले भने, ‘अब चाँडै हाम्रो विचार समूहको बैठक बसेर नयाँ शक्ति निर्माण गरेर जान्छौँ ।’
पार्टीमै बस्ने मुडमा रहेका केन्द्रीय सदस्य दलबहादुर रानाले माग पूरा नभए पनि पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयभन्दा उत्तर लचिलो भएको बताए ।

कार्यकर्ता तानातान
उपाध्यक्ष राईको नेतृत्वमा रहेको अग्रगामी विचार समूहका सबै सदस्य निर्णायक अवस्थामा विभाजित छन् । स्रोतका अनुसार पार्टीभित्र बस्ने र नयाँ पार्टी बनाएर जाने नेताहरू नै कार्यकर्ता तानातानमा लागेका छन् ।
उपाध्यक्ष राईसहितका अधिकांश नेता नयाँ पार्टी घोषणा गर्न अन्तिम तयारीमा छन् भने पोलिटब्युरो सदस्य गुरुङ पार्टीमै बस्ने तयारीमा छन् । स्रोतका अनुसार नेता गुरुङ असन्तुष्ट नेतालाई पार्टीमै राख्ने अभियानमा छन् । उनले जिल्लास्तरका नेतालाई समेत फोन गरेर पार्टीमै बस्न ‘लबिङ’ थालेका छन् । उनीसँगै केन्द्रीय सदस्य किरण गुरुङ, दलबहादुर राना पनि एमालेमै बस्ने भएका छन् ।
उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्य रामचन्द्र झा, विजय सुब्बा, राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य रकम चेम्जोङ, अजम्बर काङमाङ राई, रिजवान अन्सारी, वीरबहादुर रानालगायत नेता नयाँ पार्टी बनाउन लागिपरेका छन् । राईलगायत नेता नयाँ पार्टी बनाउन देश दौडाहामा छन् ।

प्रतिक्रिया