क्ल्याप पड्किँदा सातो उड्यो

मैले पहिलोचोटि क्यामेरा फेस सानो पर्दाको हिजोआजका कुराबाट गरेको हुँ । मलाई टिभीमा देखिने साह्रै रहर थियो । ०४९ सालतिरको कुरो हो, स्कुलमै पढ्थेँ । एक दिदीले मलाई सन्तोष पन्तकोमा लैजानुभयो । शर्मा थरकी तिनै दिदीलाई फकाएर म पनि सुटिङमा गएँ । सानो रोलमा खेल्ने मौका पाएँ । भिडभाडमा चन्दा माग्नुपर्ने रोल थियो । मेरो अभिनयका बेला पानी पर्न थालेको थियो । धन्न डाइलग बोल्न पाइयो । एक त पानी पर्न लागेको, त्यसमाथि भिडभाड एकै टेकमा डाइलग ओके भएछ । सुटिङ सकियो, घर गइयो । खासमा त्योबेला मैले सुटिङ कस्तो हुन्छ, अभिनय के हो भन्ने कुनै अनुभव नै गर्न पाइनँ ।
पछि ठूलो पर्दाको सुनचाँदीमा केही अभिनय गर्न पाएँ । शम्भु प्रधान निर्देशक रहेको सो चलचित्रमा मलाई हिरोको साथीको रोल मिलेको थियो । हिरो थिए, राजेन्द्र महर्जन । अर्का हिरो श्रीकृष्ण श्रेष्ठ थिए । राजेन्द्रकी जोडी थिइन्, नायिका सारंगा श्रेष्ठ । त्यसमा मेरो तीन सिन थियो । आरुबारी भन्ने ठाउँमा सुटिङ थियो । निर्देशक शम्भु प्रधानको नाम सुन्नेबित्तिकै मेरो मुटु काम्न थाल्थ्यो । उहाँको नाम निकै सुने पनि त्यसअघि प्रत्यक्ष देखेको थिइनँ । त्यतिबेला चलचित्रका निर्देशक भनेपछि नायकनायिका त डराउँथे, म झन् नडराउने कुरै थिएन ।
एक्कासि कानमा बम पड्केजस्तो लाग्यो, सातै पो गयो । पछि थाहा पाएँ, क्ल्याप पड्काएका रहेछन् । त्यसरी पड्काउँछन् भन्ने आफूलाई थाहै थिएन । आफूलाई झटपट् सम्हालेर छायांकनतिर लागेँ । पहिलो सिन नै नायक राजेन्द्रसँग थियो । टेक दिनेबेला के भएको थियो, मेरो त मुटु नै ढुकढुक गर्न थाल्यो । के गर्ने गर्ने, होस हराएझैँ भएँ । तर, मेरो पहिलो सिनमा निर्देशक आउनुभएन । मुख्य सहायकले गराउनुभयो । त्यसैले मलाई अलि सजिलो भयो । त्यही एउटा सिनकै लागि मैले चार टेक खाएँ ।
त्यतिबेला म चाबेलको एक सहकारीमा काम गर्थें । हप्तामा एक दिन हुन्थ्यो । त्यही दिन मात्र सुटिङमा जान मिल्थ्यो । त्यसरी गरेको सुटिङ, अनि बिग्रिएका सटहरू घर फर्किसकेपछि धेरै बेर सम्झिरहन्थेँ, निदाउनै सक्दिनथेँ ।
सम्झी–सम्झी टेन्सन हुन्थ्यो । जब चलचित्र पूरा भयो, साथीभाइसँग निकै गफ लाइयो । मेरो चलचित्रमा यस्तो छ, उस्तो छ भनेर । सो चलचित्रको गीतमा पनि नाचेको थिएँ, गाना पनि गरेको छु भनेर धाक लगाएँ । चलचित्र प्रदर्शनमा आयो तर राम्रो चलेन । सुटिङका क्रममा चलचित्र चल्छ अनि मलाई सबैले चिन्छन्, त्यसपछि अरू पनि चलचित्र पाउँछु भन्ने ठूलो आशा थियो मलाई । तर, मेरो त्यो आशा सपनाजस्तै भयो । सिनेमाघरमा गएर दर्शकसँग बसेँ सिनेमा हेरेँ । कहीँकतैबाट केही प्रतिक्रिया पाइनँ । निराश भएँ । ठूलो पर्दाको चलचित्र फाप्ला जस्तो लागेन । अब म ठूलो पर्दामा त्यति खेल्दिन बरु सानो पर्दा नै ठिक भन्ने सोचेँ । लोकप्रियता पनि सानोमा छिट्टै पाइने, त्यसैले सानो पर्दामै संघर्ष सुरु गरेँ । त्यही संघर्षले अहिले यहाँसम्म आइपुगेको छु ।

प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया