आर्मी क्वार्टरफाइनलमा

काठमाडौं, १९ भदौ । पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्र प्रथम एनभिए कप राष्ट्रिय क्लब च्याम्पियनसिपको महिला स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ‘ख’ को लिगमा पश्चिमाञ्चलले पूर्वाञ्चल भलिबल क्लबमाथि २५–७, २५–८ र २५–६ को सहज जित हात पार्‍यो ।
लगातार दुई हारसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । पूर्वाञ्चलको बहिर्गमनसँगै एपिएफ क्लबको सेमिफाइनल ढोका खुल्यो । अब पश्चिमाञ्चल र एपिएफ समूहविजेताका लागि भिड्नेछन् ।
महिलाकै समूह ‘क’ बाट यसअघि सेमिफाइनलमा पुगिसकेका दुई टोली नेपाल प्रहरी क्लब र न्यु डायमन्ड क्लबबीचको खेलमा प्रहरी
२५–१९, २५–१४ र २५–१२ ले विजयी भयो । जितसँगै प्रहरी समूहविजेता बन्यो । खेलमा आफ्नो लयमा आउन पुलिस क्लबलाई केही समय लागेको थियो । पहिलो सेटमा कुनै समय न्यु डायमन्ड १८–१६ ले अघि रहेको थियो ।
महिलातर्फ नै समूह ‘क’ को अर्को खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मध्यपश्चिम भलिबल क्लबलाई १८–२५, २५–२३, २५–१८ र
२५–२० ले पराजित गरी सान्त्वना जित हात पार्‍यो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मी क्लब क्वार्टरफाइनलमा पुग्यो ।
समूह ‘ग’ को विजेता बन्ने क्रममा आर्मीले नेपाल स्पोर्ट्स क्लब, सुदूरपश्चिमाञ्चललाई २५–१३, २५–८ र २५–१५ ले पाखा लगायो । पुरुषतर्फ नै विश्वविद्यालय खेलकुद संघ र जी–फोर स्पोटर््स क्लब, दोलखाले पनि जित हात पारे ।
समूह ‘ख’ को खेलमा विश्वविद्यालयले ढोरपाटन स्पोर्ट्स प्रशिक्षण केन्द्रलाई २५–१३, २५–२० र २५–१७ को सोझो सेटमा पन्छायो । समूह ‘घ’ को खेलमा जी–फोरले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१५,
२३–२५, २५–१९ र २५–२१ को सेटमा निराश पार्‍यो ।

प्रतिक्रिया