अजयद्वारा बचाउ

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘सन अफ सर्दार’ले शिख समुदायको मानमर्दन गरेको गुनासो आइरहेका बेला अजयले फिल्मको बचाउ गरेका छन् । फिल्ममा शिख समुदायलाई सकारात्मक रूपमा प्रस्तुत गरिएको जिकिर गर्दै उनले फिल्मले कसैलाई ठेस नपुर्‍याएको बताएका छन् ।
फिल्मले सिख समुदायलाई होच्याएको दाबी गर्दै अल इन्डिया शिख विद्यार्थी महासंघले मंगलबार अभिनेता र निर्मातालाई कारबाही गर्न माग गरेको छ । फिल्म हास्यप्रधान छ । ‘म पनि पञ्जाबको बासिन्दा हुँ र त्यहाँका मानिस तथा संस्कृतिप्रति ममा अगाध आस्था छ,’ अजयले भनेका छन् । ज्ञानी मानिसको सरसल्लाहमा फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कसैलाई होच्याएको कुनै प्रसंग फिल्ममा भेट्टाइँदैन । फिल्मको मुख्य पात्र नै सरदार भएकाले शिख समुदायलाई असाध्यै राम्रो तरिकाले प्रस्तुत गरिएको छ ।’ फिल्मको विरोध गर्नेलाई उनले फिल्म रिलिज हुने दिन पर्खिन र हेरेर मात्रै टिप्पणी गर्न अनुरोध गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया