कल डिटेल दुरुपयोग भएको छैनः प्रहरी

काठमाडौं, १५ भदौं । नेपाल प्रहरीले केही संचारमाध्यामहरुले मोवाईल फोन प्रयोगलाई लिएर प्रकाशित समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता विनोद सिंहले आज विज्ञप्ति जारी गरेर सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘हालै प्रकाशित मोवाइल फोनको कल डिटेल तथा एसएमएसहरु प्रहरीले दुरुपयोग गरेको तथा गोपनियता राख्न धेरै मोबाइलहरु प्रयोग गर्ने गरेको भन्ने आसयका समाचारहरुप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले व्यावसायिक कामको सिलसिलामा बाहेक अन्य कुनै प्रयोजनका लागि व्यक्तिगत कलडिटेल तथा एसएमएस हेर्ने कार्ये नगरेको प्रष्ट पारेको छ ।
‘कल डिटेल तथा एसएमएसहरु केन्द्रीय प्रहरी अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा तथा तोकिएका केही प्रहरी कार्यालयको शिफारिशमा मात्र मगाउने ब्यबस्था छ,’ प्रवक्ता सिंहले भनेका छन् ।
प्रहरीको व्यवसायिक कार्य पृथक हुने र आफ्नो कार्यको सिलसिलामा प्रत्येक क्षण सम्पर्कमा रहिरहनुपर्ने भन्दै प्रवक्ता सिंहले एक वा सो भन्दा बढी मोवाइल प्रयोग गर्नु स्वभाबिकनै रहेको जनाएका छन् । उनले प्रहरीको यथार्थतालाई अनावश्यक रुपमा समाचारमा प्रस्तुत गरिनुले सेवामा तल्लिन प्रहरी कर्मचारीको मनोवलमा ठेस पुगेको जनाएका छन् ।
प्रहरीले हरेक नेपाली नागरिकको गोपनियताको अधिकारको सम्मान गर्दै प्रहरीले अनुसन्धानको सिलसिलामा मगाइएका कल डिटेल तथा एसएमएस अति गोप्य रुपमा राख्ने गरेको जनाएको छ ।

प्रतिक्रिया