नमस्ते, वर्षात् र फुल स्टप

काठमान्डौ : नेपाली दर्शकले आज शुक्रबारबाट तीन नयाँ चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्– नमस्ते, वर्षात् र फुलस्टप । अघिल्लो साता प्रदर्शनमा आएका फोर्स र संसार आफ्नैले पनि थप स्टेसन पाएका छन् । नमस्तेको निर्देशन विजयबिक्रम बस्नेतले गरेका हुन् भने फुलस्टपका निर्देशक हुन् कमलकृष्ण पौडेल त्यस्तै सानु शाक्यको निर्देशनमा तयार भएको छ ।
ज्ञानकुमार चापागाईंको निर्माणमा देशभरका स्टेसनबाट एकैपटक प्रर्दशन हुन लागेकोनमस्तेले क्यु प्रणालीअन्तर्गत लामो समयको पर्खाइपछि पालो पाएको हो । कमेडी बेसमा निर्माण भएको चलचित्र राजधानी र मोफसलका गरी तीन दर्जनबढी हलमा प्रदर्शन हुँदै छ । दिलीप रायमाझी, सोनिया केसी, राजीव हिमासिब, गोपाल ढकाल ‘छन्दे’, कल्पना शाही, सुशील पोखरेल, किरण केसी, सन्तोष तामाङले यसमा अभिनय गरेका छन् । अष्ट महर्जनको द्वन्द्वनिर्देशन, विकास चौधरीको संगीत र लोकचन्द्र थापाको छायांकन  छ । लगातार लवस्टोरी र एक्सन चलचित्र मात्र प्रदर्शनमा आइरहेका बेला कमेडी बेसमा फरक स्वाद बोकेर आएकाले नमस्ते सफल हुने विश्वास निर्देशक बस्नेतले गरेका छन् ।
बेनीज्योति गुबाजुको प्रतुति रहेको फुलस्टपलाई मोहन कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेका हुन् । सबिन श्रेष्ठ ,विनीता बराल ,सुस्मिता साही, अनुजा गन्धर्व, आइसा, अर्जुन, रोसनी सापकोटाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । माता मनकामना फिल्मस्को ब्यानरमा निर्मित यो चलचित्रलाई सस्पेन्स थ्रिलर भनेर प्रचार गरिएको छ । उपत्यकाका १३ र बाहिरका २३ वटा हलबाट एकसाथ प्रर्दशनमा आउन लागेको फुलस्टपमा चन्द्र पन्तको द्वन्द्व, साइमन राजवंशीको नृत्यनिर्देशन छ भने छायांकन कृष्ण श्रेष्ठले गरेका छन् । (सौस)

प्रतिक्रिया