गुठी संस्थानको ‘अनियमितता’मा अख्तियारको नजर

काठमाडौं, १५ भदौ । गुठी संस्थानमा अनियमितता भएको भन्दै भूमिसुधार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक उजुरी पर्ने गरेका छन् । ती उजुरीमध्ये अधिकांश संस्थानका प्रशासक बलिराम साह तेलीविरुद्धका छन् ।
मन्त्रालय स्रोतका अनुसार संस्थानका प्रशासक तेली र अन्य कर्मचारीले जग्गा दलालसँगको मिलेमतोमा गुठीको जग्गा व्यक्तिका नाममा कायम गराउने गरेको उजुरी परेका छन् । गुठीको जग्गाको सिमानामा पर्ने व्यक्तिको जग्गालाई नक्कली कागजात बनाई गुठीको बनाउने तथा गुठीकै जग्गालाई जग्गा व्यापारीबाट मोटो रकम असुली व्यक्तिको नाममा गराउने गरेको उजुरीमा उल्लेख छ ।
संस्थानका अध्यक्षसमेत रहेका भूमिसुधार मन्त्रालयका सहसचिव एवं जग्गा महाशाखा प्रमुख तेजराज पाण्डेले संस्थानका पदाधिकारीबाट अनियमितता भएको भन्दै दिनहँुजसो उजुरी पर्ने गरेको बताए । ‘उजुरीको प्रकृति हेर्दा संस्थानबाट यसअघि भएका सबै काम रद्द गरी सुरुदेखि नै गर्नुपर्ने देखिन्छ,’ सहसचिव पाण्डेले भने, ‘उजुरीलाई आधार मान्ने हो भने संस्थानको आगामी कुनै पनि कार्यक्रम स्वीकृत हुने देखिँदैन ।’
संस्थानको वार्षिक कार्यक्रमसमेत स्वीकृत हुन नसकेको अवस्थामा शुक्रबार बोर्ड बैठक बस्ने जानकारी पाण्डेले गराए । शुक्रबारको बैठकमा सबै कुरा राखी कारबाही गर्नुपर्ने देखिए दोषीलाई आफूले कारबाहीको सिफारिस गर्ने उनले बताए । ‘संस्थानको अध्यक्ष मन्त्रालयका कर्मचारी रहने भए पनि त्यो नाम मात्रको अध्यक्ष हुने रहेछ,’ उनले भने, ‘संस्थानको संशोधित ऐनले गुठीलाई बलियो बनाएकाले त्यहाँ अनियमितता भए पनि मन्त्रालयले कारबाही गर्न सक्दैन ।’
उनका अनुसार संस्थानका प्रशासक तथा अन्य अधिकारीबाट भएको भनिएका अनियमितताबारे अख्तियारले छानबिन गर्नुपर्ने हो । तर, अख्तियारले अहिलेसम्म चासो नदेखाएको उनको भनाइ छ । ‘यसबारे हामीभन्दा पनि अख्तियार बढी चनाखो हुनुपर्ने हो,’ उनले भने, ‘गुठी संस्थानबाट भएका अनियमितताबारे मन्त्रालयमा भन्दा अख्तियारमा धेरै उजुरी परेका छन् ।’ मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले पनि संस्थानमा भएका अनियमितताबारे धेरै उजुरी परेको बताए । ‘संस्थानबारे जानकारी लिने र त्यसको मनिटरिङ गर्ने बेग्लै महाशाखा भएकाले ती सबै उजुरी महाशाखालाई नै पठाइएको छ,’ सचिव अधिकारीले भने, ‘त्यसैले त्यसबारे के भएको छ भन्ने जानकारी छैन, छानबिन गरी दोषी पाइए सरकारले कारबाही गर्छ ।’
अख्तियारका सचिव भगवतीकुमार काºलेले पनि संस्थानका अनियमितताबारे उजुरी आएको बताए । ‘अख्तियारले ती उजुरीको छानबिन गरिरहेको छ,’ सचिव काºलेले सौर्यसँग भने, ‘केही उजुरी छानबिनको अन्तिम चरणमा पुगेका छन् भने केहीको छानबिन सुरु भएको छ ।’ स्रोतका अनुसार अख्तियारमा पनि धेरैजसो उजुरी प्रशासक तेलीविरुद्ध नै परेका छन् । तेलीले राजधानी र राजधानीबाहिरका विभिन्न सहरमा गुठीको नामको जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा पास गराउने कार्यलाई प्रोत्साहन गरेको उजुरीमा उल्लेख छ ।
काठमाडौं–९ जोरपाटीमा कित्ता नम्बर ५० को २० रोपनीभन्दा बढी गुठी तैनाथी जग्गालाई जग्गा व्यापारीसँगको मिलेमतोमा मोही कायम गराउने अभियानमा लागेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । जोरपार्टीमै रहेको सोही प्रकृतिकै कित्ता नम्बर ४८ र ४९ मा मोही नलाग्ने भन्दै भूमिसुधार कार्यालयले निर्णय गरे पनि जग्गा व्यापारीसँगको मिलेमतोमा तेलीले गोप्य रूपमा मोहियानी कायम गराउने प्रक्रिया अघि बढाएका छन् ।
जनकपुर–४ स्थित तिरहुतिया गाछीस्थित कृषिउपज बजारको नयाँ भाडादर कायम गरी पाँच वर्षका लागि टेन्डर आह्वान गर्दा साविकको भन्दा भाडादर पाँच गुणा बढी दिने गरी परेको टेन्डर फाइल स्वीकृतिका लागि संस्थानमा आएको चार महिना बिते पनि स्वीकृत नगरेको, पर्साको सुख्खा बन्दरगाहनजिकैको गुठी तैनाथ पोखरी भाडामा दिने सम्बन्धमा परेको टेन्डर पनि स्वीकृत नगरेको उजुरीमा उल्लेख छ । टेन्डर पार्ने व्यक्ति तथा संस्थासँग कमिसनमा कुरा नमिलेकाले ती फाइल स्वीकृत नगरेको दाबी उजुरीमा गरिएको छ । यस विषयमा प्रशासक तेलीले भने प्रतिक्रिया दिन अस्वीकार गरे ।

प्रतिक्रिया