रोकिएन सहकारीमा गैरसदस्यीय कारोबार

काठमाडौं, १४ भदौ । सहकारी संघ/संस्थामा आफ्ना सदस्यलाई मात्र कारोबार गर्न पाउने कानुनी प्रावधान भए पनि गैरसदस्यीय कारोबार रोकिएको छैन । सहकारीको नियामक निकाय सहकारी विभागले गैरसदस्यीय कारोबार गर्ने सहकारीलाई नियन्त्रण गर्नसकेको छैन । सहकारीले खुलेआम गैरसदस्यीय कारोबार गरिरहेका छन् ।
सहकारी विभाग र सहकारी डिभिजनले गरेको अनुगमनमा त्यस्तो कारोबार गर्ने धेरै सहकारी भेटिए पनि नियामक निकायले कुनै पनि सहकारीलाई कारबाही गर्न सकेन । सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, ०६८ मा गैरसदस्यीय कार्य गर्ने कुनै पनि संघ/संस्थालाई ठगी प्रकरणका रूपमा लिइने व्यवस्था छ । साथै, ती संघ/संस्थाका सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकलाई सम्बन्धित डिभिजन सहकारी कार्यालयले कारबाहीका लागि प्रहरीसमक्ष लेखी पठाउने व्यवस्था पनि उल्लेख छ ।
सहकारी विभागले वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने गरेको अनुगमनमा समेत सदस्यभन्दा बाहिर गएर गरिएको कारोबार भेटिएको विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । ‘अनुगमनमा भेटिएका यस्ता समस्यालाई सुधार्ने मौका दिएका छौँ,’ रजिस्ट्रार न्यौपानेले भने, ‘अर्को पटकको अनुगमनमा पनि गैरसदस्यीय कारोबार भेटियो भने कारोबार गर्छौं ।’ सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन गर्न निर्देशन दिएको उनको भनाइ छ । ‘सहकारीलाई व्यवस्थित सञ्चालनमा विभागको जोड रहेको छ,’ उनले भने, ‘व्यवस्थित बनाउन सहकारी अनुगमनलाई जोड दिन्छौँ ।’ सदस्यबाहिर गएर कारोबार गर्न कानुनले रोकेको हुँदा कुनै पनि सहकारीलाई कारबारही नगरेको उनले बताए ।
गैरसदस्यीय कारोबार गर्न सहकारी मापदण्डले कडाइ गरेको र मापदण्ड जारीपछि धेरै कमी आएको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । ‘मापदण्ड लागू हुनु पहिले धेरै सहकारीले सदस्यविना कारोबार गरेका थिए,’ सहकारी अधिकृत शर्माले भने, ‘हाल नियन्त्रण हँुदै आएको छ ।’ केही सहकारीमा त्यस्तो भेटिएकाले पूर्णरूपले बन्द गर्न निर्देशन दिने उनले बताए । गत आर्थिक वर्षमा कार्यालयले एक हजार सहकारीको अनुगमन गरेको थियो ।
काठमाडौंमा करिब चार हजार सहकारी भए पनि कर्मचारी अभाव र सीमित स्रोत, साधनले गर्दा कम सहकारीको अनुगमन गर्न सम्भव भएको शर्माले बताए । सबै सहकारी मापदण्डअनुरूप चल्नुपर्ने उनको धारण छ । गैरसदस्यीय कारोबार गर्ने सहकारीलाई नियन्त्रण गर्नुपर्ने राष्ट्रिय सहकारी संघका सञ्चालक ओमदेवी मल्ल जोशीले बताइन् । ‘सहकारीले सदस्यलाई मात्र कारोबार गर्ने हो,’ उनले भनिन्, ‘केही समय सुधार्न मौका दिएर सदस्यसँग बारोबार गर्न लगाउन पर्छ ।’ विभागको निर्देशन नमानेको खण्डमा कारबाही पनि गर्नुपर्छ ।
सहकारी समुदायमा आधारित व्यवसाय भएकाले गैरसदस्यीय कारोबार गर्न नपाउने उनले बताइन् । सहकारीको संख्यात्मक वृद्धिसँगै यसमा विकृति फैलिएको छ । २५ हजार तीन सय सहकारीभन्दा बढी स्थापना भएका छन् । तीमध्ये धेरैजसो सहकारी मापदण्डविपरीत सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया