सहकारीका नाममा किताब बेचेर कमिसन खान्छन् जनक शिक्षाका पदाधिकारी

काठमाडौं, १४ भदौ । जनक शिक्षा सामग्री केन्द्रका उच्चपदस्थ कर्मचारीहरूले साना कर्मचारीको नाममा कमिसन खाने गरेको रहस्य खुलेको छ ।

केन्द्रका कर्मचारीको सहभागितामा खोलिएको सहकारीको नामबाट जनक शिक्षाले छपाइ गरेका पाठयपुस्तक बिक्री वितरण गरी ठूलो परिमाणमा कमिसन खाँदै आएको रहस्य खुलेको हो ।
जनक शिक्षाले साझा प्रकाशन सहकारीसँग गरेको सम्झौताअनुसार आफैले कार्यालय सञ्चालन गरेर खुद्रा व्यापारबाहेक अरूलाई ठूलो परिमाणमा पाठयपुस्तक बिक्री गर्न पाउँदैन । तर, कर्मचारीको नाममा खोलिएको सहकारीलाई पुस्तक बेचेको देखाएर उच्चपदस्थ कर्मचारीले ठूलो परिमाणमा कमिसन खाने गरेको कर्मचारीहरू नै बताउँछन् । कर्मचारीले केन्द्रका निर्देशक कपिलदेव पोखरेल र प्रबन्धक सुजनराज नेपालले कमिसन लिँदै आएको कर्मचारीहरूको दाबी छ । प्रबन्धक नेपाल सहकारीका अध्यक्षसमेत हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सहकारीको नामबाट पुस्तक बिक्री नगर्न निर्देशन दिएको छ तर कर्मचारीले कमिसनको लोभमा निर्देशनको अवज्ञा गर्दै काम गरिरहेका छन् ।
यस शैक्षिक सत्रमा मात्र जनक बहुमुखी सहकारीको नामबाट एक करोड १७ लाख पाँच हजार आठ सय रुपियाँका पुस्तक बिक्री भएका छन् । जनक शिक्षा स्रोतका अनुसार विराटनगर कार्यालयबाट २४ लाख २६ हजार तीन सय ५०, जनकपुरबाट ६ लाख ४५ हजार, भरतपुरबाट १३ लाख ४७ हजार नौ सय ३२, पोखराबाट ४७ लाख ७७ हजार चार सय, नेपालगन्जबाट १३ लाख ४५ हजार तीन सय ५२ र धनगढीबाट ११ लाख ६३ हजार आठ सय ६० रुपियाँका पुस्तक बिक्री गरिएको छ ।
स्रोतका अनुसार जनक शिक्षाका क्षेत्रीय कार्यालयहरूबाट जनक बहुमुखी सहकारीका नाममा पुस्तक बिक्री गरेपछि साझा प्रकाशनले अख्तियारमा उजुरी गरेको थियो । उख्तियारले उजुरीको सुनुवाइ गर्दै जनक शिक्षा र साझा प्रकाशनबीच भएको सम्झौताअनुसार मात्र बिक्री गर्न पाउने र सहकारीको नाममा बिक्री गर्न नपाउने भन्दै जनक शिक्षालाई निर्देशन दिएको छ । गत ४ साउनको अख्तियारको निर्देनशमा भनिएको छ, ‘जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको हातामा जनक सहकारी स्थापना गरी त्यसमार्फत पाठयपुस्तक बिक्री वितरण भइरहेको हुँदा सो कार्य तत्कालै बन्द गर्ने ।’ सहकारीका अध्यक्ष नेपालले कर्मचारीलाई दुई/चार पैसा आओस् भनेर सहकारी सञ्चालन गरेको दाबी गरे । ‘अहिले के–कति पाठयपुस्तक बिक्री भए ? अडिट भएपछि मात्र यकिनरूपमा थाहा हुन्छ,’ नेपालले भने, ‘पाठयपुस्तक बिक्री वितरण नगर्नू भन्ने अख्तियारको निर्देशन आएको छ, अब निर्देशनको अवज्ञा गर्दैनाँै ।’
आव ०६५/६६ देखि ०६७/६८ सम्म सहकारीको नामबाट झन्डै ३ करोड २० लाख रुपियाँका पुस्तक बिक्री गरी त्यसबाट आएको कमिसन केन्द्रका निर्देशक कपिलदेव पोखरेल र प्रबन्धक सुजनराज नेपालले व्यक्तिगतरूपमा लाभ लिएको कर्मचारीको दाबी छ । पोखरेल ०६२ देखि ०६८ पुससम्म सहकारीका अध्यक्ष र सुजन नेपाल कोषाध्यक्ष थिए । अहिले नेपाल सहकारीका अध्यक्ष हुन् । जनक शिक्षाका क्षेत्रीय कार्यालयहरूमा रहेका कर्मचारी र कार्यालय प्रयोग गरी पहिला जनक शिक्षाको पुस्तक १८ दशमलव २५ प्रतिशत कमिसन कटाई जनक बहुमुखी सहकारीलाई कागजीरूपमा बिक्री गरिन्छ । त्यसरी जनक बहुमुखी सहकारीले बढीमा १० प्रतिशत छुट दिई व्यापारीलाई बिक्री गर्ने गर्छ र बीचको ८ दशमलव २५ प्रतिशत कमिसन सहकारीले प्राप्त गर्छ । एक कर्मचारीले प्रश्न गरे, ‘कार्यालय पनि जनक शिक्षाको, बिक्री गर्ने कर्मचारी पनि जनक शिक्षाका तर कमिसनचाहिँ सहकारीको ?’ कपिल पोखरेल निर्देशक पदका कर्मचारी हुन् र सुजन नेपाल प्रबन्धक पदका । ‘जिम्मेवार पदमा बसेका कर्मचारीले आफ्नो संस्थालाई घाटामा पुर्‍याई सहकारीलाई फाइदा पुर्‍याउने वदनियतपूर्ण काम गर्दै आइरहेका छन्,’ ती कर्मचारीले भने, ‘त्यस्तो कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्नुपर्छ ।’
केन्द्रले छपाइ गरेको पुस्तक सहकारीको बिलबाट बिक्री गरी अनियमित ढंगले केही व्यक्तिले मात्र लाखौँ कमाइ गरिरहेका छन् । जनक शिक्षाका क्षेत्रीय कार्यालयहरूबाट जनक शिक्षाकै बिक्री बिलबाट पुस्तक बिक्री गर्दा त्यसबाट ग्राहकलाई दिइने छुट रकममा हुने बचत जनक शिक्षाको आफ्नै आम्दानी हुने भए पनि त्यो बिक्री सहकारीको बिलबाट गरी केन्द्रको आम्दानी घटेको छ ।

प्रतिक्रिया