उद्योग वाणिज्य संघका अध्यक्षको घर

जाजरकोट, १४ भदौ । जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले पाँच वर्षदेखि राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय जाजरकोटको नाममा रहेको सरकारी जग्गा व्यक्तिगत प्रयोग गरिरहेका छन् । अध्यक्ष खड्काले खलंगा–२, ठाँटीबजारस्थित नेपाल रेडक्रस सोसाइटीको भवनपूर्व रहेको राष्ट्रिय अनुसन्धानको नाममा दर्ता भएको कित्ता नम्बर १६४ र

४६५/१४—२—२ क्षेत्रफलको जग्गामा पक्की घर बनाएका हुन् ।
उनले अहिले सोही घरमा निर्बाधरूपमा कपडा पसल सञ्चालन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका खड्काको आडमा खलंगा–९, कालेगाउँका कृष्णबहादुर खत्रीले समेत तीन वर्षपहिले खड्काको घरसँगै जोडेर घर बनाएका छन् । त्यसैगरी कांग्रेस कार्यकर्ता पृथ्वीबहादुर शाहीको पनि घरको आधा भाग जग्गामा परेको छ ।
पटकपटक जग्गा खाली गर्न आग्रह गरिए पनि खड्काले आनाकानी गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा भरखरै सरुवा भएर आएका सिडिओ कृष्णश्याम बुढाथोकीले अनुसन्धान कार्यालयको नाममा रहेको जग्गा खाली गराउन तत्काल पहल थाल्ने आश्वासन दिएका छन् ।
सिडिओ बुढाले भने, ‘सरकारी संयन्त्र प्रयोग गरेर भए पनि जग्गा खाली गर्न लगाउँछु । यसमा सबैले साथ दिनुपर्छ ।’ यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका जाजरकोटका प्रमुख राजकुमार कालिकोटेले जग्गाको लालपुर्जा लिन मात्र बाँकी रहेको भन्दै
एक–दुई दिनमै काम पनि पूरा गर्ने तयारीमा रहेको बताए । जग्गा ०४५ सालको नापीमा फिल्डबुकमा अनुसन्धान कार्यालयको नाममा राखिएको भए पनि वनक्षेत्र भन्दै लालपुर्जा दिइएको थिएन । कार्यालय प्रमुख कालिकोटेले भने, ‘गत वर्षदेखि प्रक्रियामा जाँदा वनले पनि फुकुवा दिइसकेको छ । लालपुर्जा लिन भने बाँकी छ ।’
सरकारले सार्वजनिक जग्गा अतिक्रमण गर्ने तथा सरकारी जग्गा हडप्नेलाई कारबाही गरिरहेको भए पनि यसतर्फ अहिलेसम्म कसैको ध्यान जान सकेको थिएन । जिल्लास्थित राजनीतिक दल र सरोकारवालाले बुधबार घर भत्काउन सिडिओ बुढालाई ज्ञापनपत्रमार्फत बुझाएका छन् । दलहरूले खड्कासहित सरकारी तथा सार्वजनिक स्थलमा घर बनाएका सर्वसाधारणको समेत घर भत्काउन १५ दिने अल्टिमेटम राखेर ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा (एमाले), नेपाली कांग्रेस ,एकीकृत नेकपा (माओवादी), नेकपा—माओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राप्रपा नेपाल, नेकपा (माक्र्सवादी), समाजवादी जनता पार्टी, नागरिक समाज र नेपाल पत्रकार महासंघका जाजरकोटका तर्फबाट ज्ञापनपत्र बुझाइएको कांग्रेस सभापति दीपकजंग शाहले जानकारी दिए । उल्लिखित मितिसम्म कारबाहीको प्रक्रिया अगाडि नबढाए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको शाहले बताए ।
ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतलाई बोधार्थ दिइएको छ । प्रशासन कार्यालयलाई जग्गा खाली गराउने क्रममा कुनै पनि सहयोग गर्न आफूहरू तयार रहेको सर्वदलीय समितिका सदस्य एवं नेकपा (एमाले) का जिल्लानेता मित्रगणेश श्रेष्ठले बताए । सर्वदलीय/सर्वपक्षीय समितिले सार्वजनिक स्थलमा बनाइएको घर तत्काल भत्काएर अतिक्रमण रोक्न माग गरेको छ ।

प्रतिक्रिया