महोत्सवमा प्रहरीको बदमासी

लन्डन : प्रहरी र सेना सबैभन्दा अनुशासित र मर्यादित पेसा मानिन्छ । तर, बेलायतका बर्दीधारी प्रहरी अर्धनग्न नर्तकीसँग छिल्लिएको फेला परेपछि यसको आलोचना भएको छ ।
पश्चिम लन्डनमा मंगलबार धुमधामका साथ मनाइएको नोट्टिङ हिल कार्निभल महोत्सवमा तैनाथ प्रहरी नर्तकीसँग छिल्लिएका हुन् । यो युरोपकै सबैभन्दा ठूलो सडक महोत्सव हो । लन्डनमा बर्सेनि हुने कार्निभल महोत्सवमा हजारौँ सहभागी हुने गरेका छन् । उत्तेजक र रंगीबिरंगी पोसाकमा सजिएका नर्तकी सडकमा कामुकता फैलाउँदै नाँच्न थालेपछि भिड तैनाथ गर्न परिचालित प्रहरीको मन के थामिन्थ्यो र ? उनीहरू पनि सँगसँगै नाच्न थाले । कतिपय प्रहरी सम्भोगको आसनको झल्को आउने खालको शैलीमा नर्तकीसँग छिल्लिएको देखिएपछि प्रहरीको आलोचना भएको हो ।
मूलत: अफ्रिकी मूलका मानिसले मनाउने यो महोत्सवमा युरोपका सबै जातजातिका मानिस झुम्ने गरेका छन् । मंगलबार पूरै लन्डन अफ्रिकी संगीतमा झुमेको थियो । ठाउँठाउँमा अफ्रिकी खानाका स्टल राखिएका थिए । महोत्समा शान्ति सुरक्षा कायम गर्न सात हजार प्रहरी तैनाथ गरिएका थिए । (एजेन्सी)

प्रतिक्रिया