नवलको दाउ

चलचित्र दशगजा निर्माण गरेको पाँच वर्ष पुगिसक्यो नवल खड्काले । अर्को चलचित्र निर्माण गरेका छैनन् । विभिन्न च्यारिटी शो गरेर दशगजाको लगानी उठाए । अरूका लागि पाँच वर्ष पुरानो भए पनि उनका लागि चाहिँ यो फ्रेस चलचित्रजस्तो बनिरहेको छ । अझै पनि यही एउटा चलचित्र बोकेर देशविदेशमा च्यारिटी शो गराइरहेका भेटिन्छन् ।
सायद उनले राम्ररी बुझिसके, चलचित्रको लगानी उठाउन कति गाह्रो छ । यही कारणले होला, उनी नयाँ चलचित्र निर्माण गर्न डराइरहेजस्तो लाग्छ । अरू राम्रा भनिएका चलचित्रले समेत लगानी उठाउन नसकेका बेला रिस्क लिने पनि कसरी ? बरु एउटै चलचित्र च्यारिटी गरिरज्ूयो, अलिअलि पैसा पनि जोरजाम हुने, चलचित्रमा सक्रिय भइरहेजस्तो पनि देखिने ।
तर, अहिले त्यो च्यारिटी पनि छाडेर उनी कलाकार अनि निर्माताहरूकामा धाउन थालेका छन् । कसैकसैले भन्न थालेका छन्– होइन, फेरि अर्को चलचित्र बनाउन आँटेछन् कि कसो ?
तर, चियोचर्चो गर्दा कुरो अर्कै रहेछ । खासमा उनलाई हिजोआज आफ्नो नाम मिडियामा आउन छोडेझैँ लाग्न थालेछ । दशगजाले थेग्नै छाडेछ । अब नायक बनूँ, अरू कसैले लिने होइनन् । आफैँ चलचित्र बनाऊँ, रिस्क कसरी लिने ? अब के गर्ने त आफ्नो प्रचारप्रसारका लागि † उपाय सुझाएछन्, कलाकार संघको अध्यक्ष बन्ने । त्यसो भए विभिन्न कार्यक्रममा अतिथि बन्न पाइने, मिडियामा नाम पनि आइरहने । लगानी डुब्ने झन्झट पनि भएन । तर, बेलैमा निर्माता र कलाकारहरूलाई आफ्नो पक्षमा नपारे त भोट कसले दिन्छ र ? त्यसैले उनी घुँडा धसेरै कलाकारहरूलाई वशमा पार्न दौडिएका रहेछन् । लौ है नवलजी, अरू पनि यही पदका लागि मरिमेटेर लागिपरेका छन् रे भन्ने सुनिन्छ । भएभरका सूत्र प्रयोग गरेर बेलैमा फकाउनुस् कलाकारलाई । नत्र त ‘हात्ती आयो हात्ती आयो फुस्सा’ होला †

प्रतिक्रिया