औषधि पसल अनधिकृत रूपमा सञ्चालन

विराटनगर, १३ भदौ । विराटनगरमा सञ्चालनमा रहेका अधिकांश औषधि पसल अनधिकृत व्यक्तिले सञ्चालन गरेको पाइएको छ । जिल्ला बजार अनुगमन समिति मोरङले विराटनगरका औषधि पसलको अनुगमन गर्दा यस्तो पाइएको हो ।

समितिले अस्पतालचोकमा रहेका औषधि पसलको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालनका लागि अनुमति लिने व्यक्ति पसलमा नबस्ने गरेको पाइएको छ । औषधि पसल सञ्चालन गर्न ओरेन्टेसन गरेका र डी फर्मा अध्ययन गरेर उत्तीर्ण भएकालाई मात्र औषधि व्यवस्था कार्यालयले अनुमतिपत्र प्रदान गर्ने प्रावधान छ ।
तर अधिकांश औषधि पसलमा इजाजत लिएका व्यक्ति नबस्ने गरेको पाइएको अनुगमनमा संलग्न वाणिज्य कार्यालय विराटनगरका प्रमुख गोपी घिमिरेले जानकारी दिए । समितिले आइतबार र सोमबार ४१ वटा पसलमा अनुगमन गर्दा २४ वटा पसलमा इजाजत लिएका व्यक्ति नबसेको पाइएको हो । अनुगमन समितिले आइतबार २२ पसलमा अनुगमन गर्दा १६ र सोमबार १९ औषधि पसलमा अनुगमन गर्दा सात पसलमा इजाजत लिएका तालिमप्राप्त व्यक्ति भेटिएका थिएनन् ।
अनुगमनका क्रममा अस्पतालचोकका विष्णु मेडिकल हल, हेल्थ फार्मेसी, संयम मेडिकल हल, शुभलक्ष्मी फार्मेसी, अमूल्य मेडिकल हल, माँ तारा मेडिकल, आरके फार्मेसी, नेपाल औषधि पसललगायतका औषधि पसलमा अनुमतिप्राप्त व्यक्ति नबसी अर्कै व्यक्तिले औषधि बेचिरहेको पाइएको घिमिरेले जानकारी दिए ।
क्षेत्रीय औषधि व्यवस्था कार्यालय विराटनगरका प्रमुख गणेश तामाङका अनुसार औषधि ऐन, ०३५ को धारा १६ मा तालिमप्राप्त व्यक्तिले मात्र औषधि बिक्री गर्न पाउने उल्लेख छ । ऐनका आधारमा सरकारले ओरन्टेसन गरेका र डी फर्मा अध्ययनमा उत्तीर्णलाई मात्र औषधि व्यवस्था कार्यालयले इजाजतपत्र प्रदान गर्छ ।
इजाजत लिएका व्यक्तिले औषधि बिक्री नगर्दा डाक्टरले सिफारिस गरेको भन्दा फरक औषधि पर्न सक्ने र त्यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने तामाङको भनाइ छ । ‘कानुनमा उल्लेख भएअनुसार नगर्नेलाई कारबाही गर्नुपर्छ, यो सर्वसाधारणको स्वास्थ्यमा खेलवाड भएको विषय हो,’ उनले भने ।
अनुगमनमा भेटिएका अनियमितताबारे प्रतिवेदन तयार पारेर जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभागमा पठाइसकेको वाणिज्य कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए । ‘अनुगमनका क्रममा भेटिएका तथ्यबारे प्रतिवेदन बनाइसकेको छु,’ घिमिरेले भने, ‘कारबाही गर्ने जिम्मा प्रशासन कार्यालयको हो ।’ उनले यो विषय गम्भीर भएकोले कारबाही गनुपर्नेमा जोड दिए । उनले कतिपयले अनुमतिपत्र बेचेको हुन सक्नेसमेत आशंका व्यक्त गरे । ‘इजाजतपत्र लिएकाहरू नबसेपछि उनीहरूले बेचेको हुन सक्छ तर त्यो अनुसन्धानबाट मात्र थाहा हुन्छ,’ उनले भने, ‘चिकित्सकले समेत आफू बसेको औषधि पसल सञ्चालकहरू अर्काको नाममा औषधि पसल सञ्चालन गरिरहेको विषयमा अनभिज्ञ रहेको बताएपछि शंका उब्जिएको छ ।’

प्रतिक्रिया