शीर्ष बैठकबाटै निकास दिने सहमति

काठमाडौं, १२ भदौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच मुलुकको पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा परामर्श भएको छ ।
सभापति कोइरालाको महाराजगञ्जस्थित निवासमा आज विहान भएको भेटवार्तामा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक पुनः बोलाएर निकास निकाल्ने सहमति भएको हो । प्रमुख दलले निकास खोज्ने सहमति गरेलगत्तै कोइरालासँग दाहालले भेट गरेका हुन् ।
भेटवार्ता पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष दाहालले बुधबार बिहान पुनः तीन दलका शीर्ष नेताहरुवीच छलफल गर्ने सहमति भएको बताए । ‘बुधबार विहान बस्ने तीन दलका शीर्ष नेताहरुको बैठकले गतिरोध अन्त्यको प्रयास गर्ने सहमति भएको छ,’ उनले भने, ‘भोली नै निकास निस्की हाल्छ भन्ने त होइन, तर छलफल गरेर एउटा टुङगोमा हामी पुग्छौं ।’
कांग्रेस सभापति कोइरालाले सहमतिको बिकल्प नरहेको बताउँदै निकासका लागि गम्भीर बन्न एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
उनले विगतका सहमति कार्यान्वयन गर्न एमाओवादीले इमान्दारिता नदेखाएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘विगतमा भएका सहमतिको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुस ।’

यस अघि, आजै एमाओवादी अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादवसँग पनि परामर्श गरेका थिए ।
शीतल निवासमा राष्ट्रपति डा.यादवसँगको भेटमा सरकारले सिफारिस गरेका अध्यादेशहरुका बारेमा परामर्श भएको थियो ।
सरकारले विभिन्न अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरे लगत्तै दाहालले राष्ट्रपति डा.यादवसँग भेट गरेका हुन् ।

प्रतिक्रिया