वाणिज्य विभागले बजार हस्तक्षेप गर्ने

काठमाडौं : चाडबाड सुरु भएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएपछि सरकारले बजारमा हस्तक्षेप गर्ने भएको छ । स्थानीय प्रशासन, प्रहरी, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबारदेखि बजार अनुगमन थाल्ने तथा अनियमितता गर्नेलाई तत्काल कारबाही गर्ने भएको हो ।

बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएको पाइएपछि वाणिज्य विभागले अनुगमलाई सशक्त बनाउने तथा त्यस्तो कार्यमा संलग्नलाई कडा कारबाही गर्ने तयारी गरेको छ । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले चाडवाडको आगमनसँगै बजारमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन गर्न लागिएको जनाए ।
थोक पसल र ठूला गोदाममा संयुक्त टोलीले अनुगमन गर्ने उनले जनाए । उनले उभोक्तलाई ठगी गर्ने गरी मूल्यवृद्धि गर्ने तथा कृत्रिम अभाव निम्त्याइएको पाइएमा तत्काल प्रचलित कानुनबमोजिम कारबाही हुने बताए । अहिले दाल, चामल, चिनी, तेलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएकाले त्यस्ता वस्तुको बिक्री एवं भण्डारणस्थलमा टोली परिचालन हुने विभागले जनाएको छ । अहिले चामल, चिनी, तेल, दाललगायत दैनिक उपभोग्य वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । (सौस)

प्रतिक्रिया