निकास खोज्न आजदेखि निरन्तर वार्ता

काठमाडौं, ११ भदौ । प्रमुख तीन दलका शीर्ष नेताहरूले राजनीतिक तथा संवैधानिक संकट समाधानका लागि सोमबारदेखि निरन्तर संवादमा जुट्ने प्रतिबद्धता जनाएका छन् । सत्तारुढ दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन बनाएपछि तीक्तता बढेका बेला तीन दल संवादका लागि जुटेका हुन् ।
नयाँ बानेश्वरस्थित माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुन:स्थापनासम्बन्धी विशेष समिति सचिवालयमा आइतबार एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा दलहरूबीचको अविश्वास हटाउन गम्भीर वार्तालाई निरन्तरता दिने र बुँदागत रूपमा छलफल गरेर सहमतिमै राजनीतिक संकटको निकास खोज्ने सहमति भएको छ । शीर्ष बैठकले समग्र राजनीतिक संकटका विषयमा सोमबारदेखि नै संवाद गरी समाधानमा पुग्ने सहमति जुटाएको हो ।
‘भोलि (सोमबार)देखि नै हामी गम्भीर रूपमा समग्र राजनीतिक विषयमा छलफलअगाडि बढाउँछौँ,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘देश यतिबेला गम्भीर संकटमा छ, दलहरूबीच सहमतिको विकल्प छैन भन्नेमा सबै एकमत भएका छौँ ।’
राजनीतिक निकासबारे विषय प्रवेश गरे पनि आइतबारको बैठकमा उनीहरूले छलफल चलाएनन् । सत्तारुढ एमाओवादीले शान्तिप्रक्रियाको बाँकी काम अगाडि बढाउने विषयलाई प्राथमिकता दिएको थियो भने प्रतिपक्षी कांग्रेस र एमालेले समग्र राजनीतिक निकासका विषयमा छलफल गर्नुपर्ने अडान राखेका थिए । शान्तिप्रक्रियाका विषयमा सोमबार हुने विशेष समिति बैठकमा कुरा गर्ने र सोमबारदेखि नै राजनीतिक गतिरोधबारे छलफल गर्न शीर्ष नेताहरू सहमत भएका छन् ।
‘माओवादीले शान्तिप्रक्रियाका विषयमा मात्रै कुरा गरौँ भनेको थियो, मुलुक राजनीतिक र संवैधानिक संकटमा परेका बेला शान्तिप्रक्रियाका विषयमा मात्रै कुरा गर्नुको अर्थ छैन भन्यौँ,’ एमाले अध्यक्ष खनालले भने, ‘शान्तिप्रक्रियाको विषयमा विशेष समितिले नै निर्णय गरे पुग्छ ।’
एमाओवादीले भने सत्तारुढ गठबन्धन गठनप्रति शंका नगर्न आग्रह गर्दै कांग्रेस–एमालेसँग मोर्चागत नभएर दलगत रूपमै संवाद गर्ने प्रतिबद्धता जनाएको थियो । ‘मोर्चा निर्माणप्रति तपाईंहरू सशंकित नहुनुस्, पार्टीगत रूपमै छलफल गरेर हामी संवाद गर्न तयार छौँ,’ एमाओवादी अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एमाले नेता भीम रावलले भने ।
बैठकमा कांग्रेस र एमालेले दलहरूबीच सहमतिबाट संकटको निकास खोज्नुपर्ने बेला सत्तारुढ दलहरूको मोर्चा बनाई राजनीतिक ध्रुवीकरण निम्त्याएको भन्दै एमाओवादीसँग तीव्र असन्तुष्टि जनाएका थिए । ‘राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बेलामा किन यो मोर्चा बनाउनुभयो ? यो वाहियात मोर्चासँग हाम्रो सम्बन्ध पनि हुँदैन र मान्यता पनि दिँदैनौँ भनेका छौँ,’ एमाले अध्यक्ष खनालले भने, ‘मुलुकका समस्याबारे राजनीतिक दलहरूसँग संवाद गर्ने हो, हामी दलीय रूपमा भोलि (सोमबार)देखि नै गम्भीर रूपमा संवाद अघि बढाउँछौँ ।’
असंलग्न राष्ट्रहरूको सम्मेलनमा गएर अन्तर्राष्ट्रिय समुदायलाई देखाउन मात्र सेना समायोजनका विषयमा छलफल गर्न खोजेको भन्दै एमाले र कांग्रेसले एमाओवादीप्रति आपत्ति जनाएका थिए । ‘संविधानसभा छँदै चैत मसान्तभित्र कन्टेनरका हतियार सरकार मातहत ल्याउने निर्णय किन कार्यान्वयन गर्नुभएन भनेर सोध्यौँ ?’ एमाले नेता रावलले भने, ‘अन्तर्राष्ट्रिय समुदायलाई देखाउन मात्र यो विषय ल्याइएको भए हामीलाई त्यो मान्य हुनेछैन ।’
बैठकमा समग्र राजनीतिक संकटको समाधान संवादबाट मात्र हुनेमा सबै शीर्ष नेता सहमत भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । नेताहरूबीच आरोप/प्रत्यारोपको वातावरण अन्त्य गरेर सबै विषयमा गम्भीर छलफल चलाइने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘संविधानसभा विघटनपछि एकआपसमा आरोप/प्रत्यारोपमा उत्रेर बिग्रेको वातावरणलाई सकारात्मक मोडमा कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा विचारविमर्श भएको छ,’ श्रेष्ठले बैठकपछि भने, ‘सेना समायोजनका विषयमा विशेष समिति बैठकमा बसेर छलफल गर्ने र नमिलेका विषय शीर्ष तहमा छलफल गर्ने सहमति भएको छ ।’ उनले राजनीतिक निकासबारे शीर्ष नेतृत्व तहले गम्भीर छलफल गर्ने बताए ।
संविधानसभा विघटनपछि आरोप/प्रत्यारोपमा उत्रेका सत्तारुढ र प्रतिपक्षी प्रमुख दलहरू लामो समयपछि राजनीतिक निकासका विषयमा संवादमा जुटेका हुन् । कांग्रेस–एमालेले सहमतिको सरकार गठन गर्ने बाटो खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका छन् भने सत्तारुढ एमाओवादीले राजनीतिक निकासका विषयमा छलफल भएपछि मात्र प्रधानमन्त्रीले पद त्याग गर्ने अडान राख्दै आएको छ । एमाओवादीले संघीयतालगायत संविधानका विवादित विषय टुंग्याएर संविधानसभा पुन:स्थापनालाई प्राथमकता दिँदै आएको छ भने एमाले र कांग्रेसले सहमतिको सरकार गठन गरी नयाँ चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया