तराई मुक्ति मोर्चाले हतियार बुझाउने

भैरहवा, १० भादौं । सरकार र तराईमा सशस्त्र संघर्ष गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चावीच ५ बुँदे सहमति भएको छ ।
रुपन्देहीको लुम्बिनीस्थित होटल होक्केमा आज भएको सहमतिको पहिलो बुँदामा सरकारलाई मोर्चासँग रहेका हातहतियार बुझाउने उल्लेख छ ।
सरकारले मोर्चाका संयोजक तथा सदस्यलाई भरपर्दो सुरक्षा प्रदान गर्ने, मोर्चाका थुनुवा तथा बन्दी एवं मुद्दा चलेका कार्यकर्ताको अध्यावधिक विवरण मोर्चाका तर्फबाट शान्ति मन्त्रालयमा बुझाउने, यसअघि भएका सहमति कार्यन्वयन गर्ने प्रतिबद्धता सहमति भएको पाँच बुँदेमा उल्लेख छ ।
अर्को बार्ता आवश्यक्ता अनुसार आपसी सहमतिमा तय गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट शान्ति मन्त्री टोपबहादुर रायमाझी र मोर्चाका तर्फबाट संयोजक संजय गुप्ता उर्फ कौटिल्यले हस्ताक्षर गरेका छन् ।
कौटिल्यले अबको राजनीति शान्तिपूर्ण हुने बताउँदै संघीयता र गणतन्त्र खतरामा पार्ने काम भएमा पुनः हतियार उठाउने चेतावनी दिए ।
बार्तामा सरकारका तर्फबाट शान्ति तथा पुनःनिर्माण मन्त्री रायमाझी नेतृत्वमा मन्त्रालयका सचिव धुव्रप्रसाद शर्मा र सह–सचिव दीपेन्द्रनाथ शर्मा सहभागी थिए । मोर्चाबाट संयोजक संजय गुप्ता उर्फ कौटिल्य शर्मासहित रविदत्त मिश्र उर्फ राजगुरु, सत्यनारायण शाहको सहभागिता थियो ।
सरकार र मोर्चाबीच यसअघि दुई चरणको बार्ता सम्पन्न भईसकेको छ । पहिलो बार्ता २०६८ असार–३० मा हेटौंडा र दोस्रो बार्ता २०६८ पुस–१६ गते वीरगञ्जमा भएको थियो ।
बार्ताका लागि मोर्चाका सदस्यहरु भारतीय गाडी एचआर १२ ५३३५ नम्वरको मारुती कार र युपी ३२ विडब्लु ४००१ नम्वरको बलेरो जीपमा आएका थिए ।
मोर्चाले सार्वभौम सत्ता तराई सम्पन्न प्रान्तको माग गर्दै २०६१ साल देखि तराई केन्द्रित सशस्त्र युद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया