अमात्यलाई छाड्न आदेश

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले काठमाडांै जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै पोखरास्थित फूलबारी होटल तथा रिसोर्टका मालिक पीयूष अमात्यलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । दुई व्यक्तिबाट चार करोड ४० लाखभन्दा बढी ठगी गरेको भन्दै जिल्ला अदालत काठमाडौंले एक वर्षअघि अमात्यलाई तीन करोड धरौटी रकम मागेको थियो ।
जिल्ला अदालतले अमात्यसहित उनका व्यापारिक सहकर्मी सञ्जीव तुलाधर र रञ्जित गुर्वाचार्यलाई पछि ठहर हुने गरी तत्कालका लागि एक/एक करोड धरौटी मागेको थियो । शुक्रबार न्यायाधीश दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले जिल्ला अदातलको तत्कालीन आदेशलाई उल्ट्याउँदै मुद्दाको अन्तिम किनारा लागेपछि हुने गरी हाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सर्वाेच्च अदालतको आदेशबाट अमात्यबाट लिइएको तीन करोड र तुलाधरबाट लिइएको एक करोड धरौटी फिर्ता हुने भएको छ । गुर्वाचार्य जिल्ला अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि एक वर्षदेखि पुर्पक्षका लागि थुनामा थिए । सर्वाेच्चको यस आदेशसँगै उनी रिहा हुने भएका छन् । जिल्ला अदालतले धेरै धरौटी रकम लिएको भन्दै अमात्यहरू ४ वैशाख ०६९ मा सर्वाेच्च अदालत पुगेका थिए ।
फिस्टेल गेमिङ प्रालिमा क्यासिनो सञ्चालन गर्ने र त्यसको सेयरधनी बनाइदिने भन्दै अमात्यले दीपबहादुर बस्नेत र आलोक रौनियारबाट चार करोड ४० लाख रकम लिएको भन्दै २५ साउन ०६८ मा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । दायर गरिएको मुद्दाअनुसार बस्नेतबाट दुई करोड पाँच लाख र रौनियारबाट दुई करोड ३५ लाख रकम लिइएको मुद्दाको मिसिलमा उल्लेख छ । पोखरामा रहेको फ्ूलबारी होटलस्थित फूलबारी क्यासिनो खोल्ने क्रममा ठगेको आरोप लागेदेखि फरार रहेका अमात्य तीन वर्षपछि पक्राउ परेका थिए । क्यासिनो सञ्चालनका क्रममा अमात्यले बस्नेत, रौनियारबाट चार करोड ४० लाख तथा गुर्वाचार्य र तुलाधरबाट थप दुई करोड लिएका थिए । बस्नेतले गुर्वाचार्य र तुलाधरले आफूहरूलाई रकम दिन उक्साएको भन्दै मुद्दा दायर गरेका थिए । तुलाधार र गुर्वाचार्यमार्फत लगानीकर्ता जम्मा गरेपछि उनले पर्यटन मन्त्रालयबाट फिस्टेल गेमिङ प्रालिको नाममा फूलबारी रिसोर्ट सञ्चालन गर्ने अनुमति पाएका थिए । तर, तत्कालीन मन्त्रिपरिषद्को बैठकले अमात्यलाई क्यासिनो चलाउन नदिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि अमात्यले साझेदार रौनियार र बस्नेतलाई लगानी डुबेको भन्दै झुक्याउँदै आएका थिए । तर, उनले सोही होटल नयाँ कम्पनीका नाममा क्यासिनो सञ्चालन गरिरहेको दाबी प्रहरी अनुसन्धानले देखाएको थियो । मन्त्रिपरिषद्ले क्यासिनो सञ्चालनमा रोक लगाएदेखि फरार रहेका अमात्यलाई प्रहरीले सिनामंगलस्थित कार्यालयबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया