गठबन्धन जातीय बिखण्डनवादीः गौतम

चितवन, ८ भदौ । एमाले उपाध्यक्ष बामदेव गौतमले सत्ताधारी दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले जातीय राज्य बनाएर देशलाई बिखण्डन तर्फ उन्मुख बनाउन थालेको आरोप लगाएका छन् ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशलाई जातीय द्वन्द्व तर्फ नलैजान आग्रह गरे । ‘जातीयतामा मुलुकलाई फसाएर भिडन्त गर्ने दिशामा एमाओवादी र मधेसवादी दल लागेका छन्,’ उनले भने, ‘हामीलाई जातीय राज्य कदापी स्वीकार्य छैन ।’
उनले जनताको शक्तिका आधारमा जातीय बिखण्डनकारीलाई पाखा लगाउने चेतावनी दिए ।
यसैवीच, उपाध्यक्ष गौतमले राष्ट्र«पतिले तत्काल नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् । उनले राजनीतिक निकासका लागि राष्ट्रपतिले कदम चाल्नुको बिकल्प नरहेको बताए ।
‘एमाओवादीसँग सहमतिको सम्भावना सकियो,’ उनले भने, ‘सत्ता कव्जाको योजना भत्काउन पनि राष्ट्रपतिले बिचार गर्नै पर्छ ।’
एमाओवादीले संवैधानिक शुन्यता बनाएर एक दलीय सर्वसत्तावाद स्थापना गर्ने सपना देखेको भन्दै उनले कांग्रेस एमालेलाई लखेट्ने भ्रम त्याग्न आग्रह गरे ।

प्रतिक्रिया