आफूलाई यसरी प्रस्तुत गरौं

अपरिचित मानिसहरूबीच आफूलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे तपाईंंलाईं समस्या परिरहेको हुन सक्छ । अरूमाझ प्रस्तुत गर्ने शैलीले तपाईंको व्यावसायिक जीवनलाई प्रतिविम्बित गरिरहेको हुन्छ । चाहे करिअरको प्रारम्भताका अन्तर्वार्ताका क्रममा होस् या नयाँ र विशिष्ट व्यक्तिसँगको डिलिङ, स्मार्ट प्रस्तुति र व्यक्तित्वको खोजी भइरहेको हुन्छ । व्यक्तित्वको सशक्त प्रस्तुतिले साथीदेखि सामाजिक सर्कलसम्म उत्कृष्ट प्रभाव जमाइदिन्छ । प्रभावकारी ढंगबाट प्रस्तुत हुन सकिए असल साथी बनाउन पनि सकिन्छ । यो काइदा जान्न निम्न टिप्स उपयोगी छन् :
आफूलाई कन्फिडेन्ट रूपमा प्रस्तुत गर्नुहोस् । अरूका माझ प्रस्तुत हुँदा लजाउने, डराउने बानीलाई परै राख्नुपर्छ । बोल्ने कलामा पनि आत्मविश्वास देखिन जरुरी छ । यसो हुँदा तपाईंको आँखाबाट स्ट्रोङ इमेज झल्किरहेको हुन्छ ।
जतिसक्दो फ्रेन्ड्ली बनाउनुस् आफूलाई । नरमपना पनि उत्तिकै आवश्यक छ । नरमपना र मित्रवत् शैलीले सबै जना प्रभावित हुन्छन् । त्यसका लागि हल्का मुस्कानका साथ ‘हेलो’ भन्ने गर्नुस् ।
पहिलो प्रभाव धेरै नै महत्त्वपूर्ण कुरा हो । भनिन्छ– पहिलो प्रभावले नै अन्तिमसम्म पनि प्रभुत्व जमाइरहेको हुन्छ । यसको मुख्य आधार सकारात्मक तवरले प्रस्तुत हुनु हो । फ्रेन्ड्ली हुनुपर्छ तर ओभर फ्रेन्ड्ली हुनबाट आफूलाई जोगाउनुपर्छ ।
आफूसँग गफ गरिरहेको व्यक्तिलाई ध्यान दिएर सुन्ने बानी गर्नुस् । ताकि उसलाई व्यर्थमा ती कुरा भनिरहको अनुभूति नहोस् ।
आफूलाई चिनाउने क्रममा सबैभन्दा पहिले तपाईं को हो भन्ने कुराको राम्रोसँग ज्ञान वा जानकारी दिलाउन आवश्यक छ ।
तपाईं के कुरामा राम्रो र कुशल हुनुहुन्छ त्यसबारे अवगत गराउनुहोस् । कतिपय सन्दर्भमा प्रस्तुतीकरणका लागि पूर्वअभ्यास पनि जरुरी छ ।

प्रतिक्रिया