दुई दिनदेखि हात मिलाएको मिलाई

काठमाडौं, ८ भदौ । बुधबारदेखि निरन्तर हात मिलाइरहेका छन् एक जोडी युवा । ८० घन्टा हात मिलाएर ह्यान्डसेकको विश्वकीर्तिमान तोड्ने उनीहरूको लक्ष्य छ ।
ह्यान्डसेक विश्व रेकर्ड तोड्न दाङका दिनेश आचार्य र खोटाङका वीरेन्द्र राईले बुधबारबाट ‘ह्यान्डसेक’ सुरु गरेका हुन् ।
तिलगंगास्थित होटल पालज्ञमा बुधबार १२ बजेर ४ मनेट ४८ सेकेन्ड जाँदा सुरु गरिएको ‘ह्यान्ड सेक’ आगामी शनिबार ४ बजेर ४ मिनेट ४८ सेकेन्ड जाँदासम्म जारी उनीहरूले बताएका छन् । आचार्य र राईको ८० घन्टा ‘ह्यान्डसेक’ गर्ने उद्देश्य भए पनि ४२ घन्टा १२ मिनेट ९ सेकेन्डको समय पार गरे मात्रै पनि विश्व रेकर्ड तोडिनेछ । दुवैजनाको हात मिलाइदिएर एमाले सचिव एवं पूर्वमन्त्री शंकर पोखरेलले बुधबार ह्यान्ड सेकको उद्घाटन गरेका थिए । उद्घाटन सत्रको निर्णयमा गायक शिशिर योगी र आयोजक संस्थाका अध्यक्ष एकराज आचार्य थिए । उनीहरूले खान र दिसा–पिसाब गर्न दिनमा एक घन्टा समय पाउनेछन् । निर्णायकले पनि पालैपालो गरी ह्यान्ड सेकको मूल्यांकन गर्नेछन् । तीन दर्जनभन्दा बढी निर्णायकमध्ये एक समूहले बढीमा चार घन्टा मूल्यांकन गर्ने आयोजकले जनाएको छ । यसको आयोजना राप्ती समाजले गरेको हो ।
उद्घाटन कार्यक्रममा नेता पोखरेलले ह्यान्डसेकलाई राष्ट्रिय एकताको अभियानको संज्ञा दिए । यस्तै, गायिका कोमल वलीले सरकारका कुनै प्रतिनिधि नआएको भन्दै आक्रोश पोखिन् । ‘राष्ट्रप्रति समर्पित कार्यमा सरकारका पक्षबाट कोही उपस्थित नहुँदा दुस्ख लागेको छ,’ वलीको आक्रोश थियो, ‘देश चलाउने नेता–प्रधानमन्त्रीहरूले भन्दा बढी देशको प्रकृति र सर्वसाधारणले व्यक्तिगत रूपमा नाम राखेको छ ।’ राष्ट्रसँग जोडिएको कार्यक्रममा पर्यटन क्षेत्र, सञ्चार क्षेत्रका मन्त्रीहरू उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया