खानेपानी संस्थानमा तालाबन्दी

चितवन : नेपाल खानेपानी संस्थान भरतपुरमा तालाबन्दी भएको छ । संस्थानको सम्पत्ति र दायित्व भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने सरकारको निर्णयविरुद्ध तालाबन्दी गरिएको छ ।
संस्थान बोर्डमा हस्तान्तरण हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको बोर्डले बिहीबार भरतपुर नगरपालिका नगरस्तरीय टोलसुधार समिति र केही उपभोक्तालाई सामेल गराएर संस्थानको भरतपुरस्थित शाखा कार्यालयको महसुल काउन्टर, लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । तालाबन्दी गर्नुका साथै संस्थानको बोर्ड हटाएर व्यवस्थापन बोर्डको ब्यानर राखिएको छ ।
भरतपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत टीकाराम कँडेलसहित दुई दर्जन कर्मचारी कार्यालय पोसाकमै संस्थानको कार्यालयमा तालाबन्दी गर्न सहभागी भएका थिए । उनीहरूले कार्यालय प्रमुख गजेन्द्रदास हाडा र अन्य कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन् ।
पटकपटक निर्देशन पालना गर्न बोर्डले गरेको आग्रहलाई संस्थानले अटेर गरेपछि भरतपुर खानेपानी व्यवस्थापन बोर्ड संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । संस्थानको सम्पत्ति तथा दायित्व बोर्डमा हस्तान्तरण गर्ने सहमति सरकारसँग भए पनि संस्थानले सरकारको आदेशविपरीत हस्तान्तरण गर्न नमानेपछि तालाबन्दी गर्न बाध्य भएको संयुक्त संघर्ष समितिका संयोजक रामराज पौडेलले जानकारी दिनुभयो ।
बोर्डमा संस्थान हस्तान्तरण नभएसम्म नियमित खानेपानी वितरणमा भने कुनै अवरोध नहुने बताइएको छ । समितिले संस्थान बोर्डमा हस्तान्तरण नभएसम्म खानेपानी महसुल संस्थानमा भुक्तानी नगर्न नगरवासीलाई अनुरोध गरेको छ । हस्तान्तरण प्रक्रिया ढिलो हुनुमा संस्थानको गल्ती नभई बोर्डकै गैरजिम्मेवारीका कारण समय लम्बिएको खानेपानी संस्थान भरतपुरका अध्यक्ष जितेन्द्र सिंहले बताए । भरतपुर नगरपालिकामा भरतपुर खानेपानी संस्थान र भरतपुर खानेपानी व्यवस्थापन बोर्ड दुवैले उपभोक्तालाई सेवा दिँदै आएका छन् । (सौस)

प्रतिक्रिया