आधुनिक कृषि फर्म सञ्चालनमा आउने

दाङ ७ भदौ । दाङमा करोडौ रुपियाँको लागनीमा कृषि फर्म सञ्चालनमा आउने भएको छ । पशुपालन व्यवसायलाई आधुनिकीकरण र सम्मानजनक पेसाका रूपमा विकास गर्न नसकेको भन्दै कृषि पेसालाई छाडेर कृषक अन्य पेसाप्रति आकर्षित भइरहेका बेला आधुनिक कृषि फर्म सञ्चालनमा आउन लागेको हो ।

जिल्लाको फूलबारी गाविस–१ मा साना कृषकलाई लक्ष्य गर्दै पहिलोपटक वैज्ञानिक ढंगले पशुपालन गर्नका लागि राप्ती मोर्डन कृषि फर्म सञ्चालनमा ल्याउने तयारी भएको एक सञ्चालकले बताए । यस क्षेत्रका १४ जना उद्यमी युवाको सक्रियतामा सञ्चालनको तयारीमा रहेको कृषि फर्म एक हजार नौ सय बिगाह जग्गा क्षेत्रफलमा रहेको छ । अहिले फर्मका लागि आवश्यक भैँतिक पूर्वाधार निर्माणका काम तीव्र रूपमा भइरहेका छन् ।
फर्मका अध्यक्ष रेशम खड्काका अनुसार करिब एक हजार नौ सय बिगाह क्षेत्रफलमा सञ्चालन गरिएको सो फर्ममा फर्म र स्थानीय कृषकका गरी वार्षिक एक हजार भैँसीको कृत्रिम गर्भ धारणमार्फत नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गराउने, पशुको मलमूत्र र सोतरलाई अधिकतम सदुपयोग गरी भर्मिन कम्पोस्ट, बायो ग्यास र जैविक इन्धनको उपयोगमा जोड दिने उद्देश्य राखिएको छ । फर्मको लागत करिब १० करोड रुपियाँ हुने अनुमान गरिएको छ ।
फर्मले भैँसीपालनका साथै स्थानीय र उन्नतजातका बाख्रापालन, माछापालन, तरकारी खेती, फलफूलखेती, घाँस तथा जडीबुटी खेतीसमेत गर्नेगरी अहिले आवश्यक भैँतिक पूर्वाधार निर्माण गरिसकेको छ । भैँसी तथा बाख्रा राख्न आवश्यक खोर निर्माण भइसकेको छ । त्यस्तै, फर्मलाई आवश्यक पर्ने कृषि औजार पनि खरिद भइसकेको छ ।
अब चाँडै भारतबाट तीन सय उन्नतजातका भैँसी र त्यत्तिकै संख्यामा बाख्रा ल्याउने तयारी भइरहेको फर्मका अध्यक्ष खड्काले जानकारी दिए । यस्तै पशुचरन र घाँसका लागि नजिकैको जनकल्याण सामुदायिक वनसँग २० वर्षका लागि सम्झौता पनि भइसकेको उनको भनाइ छ ।
त्यस्तै, वस्तुभाउलाई खुवाउन आवश्यक पर्ने उन्नतजातका बहुवर्षीय घाँसका बिरुवा जिल्ला पशुसेवा कार्यालयले नि:शुल्क रूपमा उपलब्ध गराएको र अहिले पाँच बिगाह क्षेत्रफलमा रोपिसकिएको पनि फर्मले जनाएको छ ।
जिल्लाका विकट गाविसमा सञ्चालन गरिन लागिएको सो फर्ममा अहिले पहिलो चरणमा ४० जनाले रोजगारी पाएका छन् भने अब चाँडै अन्य ५० जनाले रोजगारी पाउने फर्म सञ्चालन समितिका अर्का सदस्य शान्ति सोमैले बताए । उनका अनुसार कृषक, दाना व्यवसायी, मासु व्यवसायी, दुग्ध व्यवसायी, ढुवानी व्यवसायी गरी अरू पाँच हजार पनि लाभान्वित हुनेछन् ।
जिल्लामा गर्मीको मौसममा छ हजार लिटर दूधको अभाव हुने गरेकामा अब सो अभावलाई यसले पूर्ति गर्नाका साथै जिल्लाबाहिर धेरै परिणाममा दूध निर्यात गर्ने सकिने उद्योग सञ्चालक बताउँछन् । यस किसिमको फर्म सञ्चालनमा आउँदै गएमा बेरोजगारी समस्या समाधान हुनेमा स्थानीयबासी आशावादी देखिन्छन् ।

प्रतिक्रिया