परिषद्का कार्यकर्ताले ट्रयाक्टर जलाए

विराटनगर, ६ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीसम्बद्ध एकीकृत लिम्बुवान स्वायत्त राज्य परिषद्को कार्यकर्ताले मोरङको मुगुखोलामा मंगलबार ट्रयाक्टर जलाएका छन् ।

परिषद्का कार्यकर्ताले मधुमल्ला र जाँतेबीचमा पर्ने मुगुखोलामा बालुवा लिन गइरहेको को १ त ४६३१ नम्बरको ट्रयाक्टरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । परिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) १६९ कार्यान्वयन गर्ने भन्दै चुरे क्षेत्रबाट वन पैदावार निकाल्न प्रतिबन्ध लगाएको छ । परिषद्ले ढुगा, गिटी, बालुवालगायतका सामग्री निकाल्न पनि अवरोध गर्दै आएका छन् । १०–१२ जनाको संख्यामा खोलामा पुगेका कार्यकर्ताले ट्रयाक्टरमा आगो लगाएर फरार भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष डिल्ली मिभकले घटनाको जिम्मा लिँदै पार्टीले सम्पूर्ण खोलाबाट निकासीमा प्रतिबन्ध लगाएको र मालवाहक साधन खोलामा पस्न नदिने बताए । उनले मधुमल्ला, जाँते, लेटाङ, केराबारी र याङशीलामा कार्यकर्ता तयार राखिएको बताए । उनले एक साताअघिदेखि नै खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न प्रतिबन्ध लगाए पनि मंगलबारबाट भने वन पैदावारसमेत निकाल्न प्रतिबन्ध लगाइएको बताए । परिषद्का कार्यकर्ताले मोरङको सोल्टी, मिक्लुक, सफेवा, तेलीलगायतका खोलामा ट्रिपर, ट्रक र ट्रयाक्टरलगायतका मालवाहक साधनलाई खोलामा पस्न अवरोध गर्दै आएका छन् । सूचना जारीपश्चात् पनि अटेर गरेर ढुंगा, गिट्टी, बालुवा लिन खोलामा आएका दुई दर्जन यातायातका साधन परिषद्का कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
जिल्ला विकास समिति मोरङका एलडिओ शिवराम पोख्रेलले यस विषयमा कुनै जानकारी नआएको बताए । खोलाको ढुंगा, गिट्टी, बालुवा निकासीको ठेक्का पाएको ठेकेदार र अन्य कहीँबाट सूचना नआएको जानकारी दिँदै उनले स्थानीय निकायले उठाउँदै आएको कर अन्य कुनै पनि समूहले उठाउन पाउने नियम नभएको बताए । उनले मोरङका १२ वटा खोलामा ढुंगा, बालुवा निकासीका लागि ठेक्का लगाइसकेको जानकारी दिए ।

प्रतिक्रिया