‘केएफसी पिज्जाहट’ आफै बन्द भएको दाबी

काठमाडौं, ५ भदौ । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आफूहरुको ट्रेड युनियन दर्ता गर्न नदिएर व्यवस्थापनले आफै दरबारमार्गस्थित ‘केएफसी पिज्जाहट’ बन्द गरेको आरोप लगाएको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर दरवारमार्गस्थित देवयानी इन्टरनेशनल प्रा.लि. अन्तर्गको ‘केएफसी पिज्जाहट’ बन्द हुनुमा स्वयं व्यवस्थापक र राज्यको नीति जिम्मेवार भएको दाबी गरेको छ ।
महासंघ संयोजक रामदीप आचार्यले मजदुरका कारण विदेशी लगानीकर्ता भड्किए भन्नु गलत रहेको बताए ।
उनले ‘केएफसी पिज्जाहट’मा मजदुरहरुले प्रतिष्ठानस्तरको आधिकारिक ट्रेड यूनियन दर्ता गर्न खोज्दा व्यवस्थापन पक्षले एकतर्फी रुपमा तालाबन्दी गरेको आरोप लगाए ।
व्यवसायीहरुले मजदुरहरुका कारण ‘केएफसी पिज्जाहट’ बन्द भएको झुटो आरोप लगाएको महासंघले दाबी गरेको छ ।
‘केएफसी पिज्जाहट’मा काम गर्ने मजदुरहरु भौतिक आक्रमणमा उत्रिएको भन्दै व्यवस्थापनले सुरक्षाको माग गरेर ‘पिज्जाहट’ केही दिन यता बन्द रहेको छ ।

प्रतिक्रिया