डाँकाको आक्रमणबाट १ को मृत्यु/६ घाईते

पाँचथर, ५ भदौ । पाँचथर जिल्लाको सराङ्गडाँडामा डाँकाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
डाँकाकले प्रहार गरेको धारिलो हतियारबाट सराङ्गडाँडा–१ बस्ने भक्तप्रसाद आङदम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति लुटपाट गर्न आएका डाँकाको आक्रमणबाट ६ जना घाइते भएका हुन् ।
१०/१५ जनाको संख्यामा डकैती गर्न आएका नकाबधारी समूहले अटलबहादुर आङदम्बेको घरमा जथाभावी खुकुरी र चक्कु प्रहार गरेका थिए ।
आङदम्बेको उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । घाइतेमध्ये २ बालकको अवस्था गम्भीर छ ।
अज्ञात नकाबधारी समूहले नगद १० लाख रुपियाँ र सुन अन्दाजी १० तोला डकैती गरी फरार भएका छन् ।
यता, रुपन्देहीको गंगोलिया–३, पकलिवामा पनि डकैती भएको छ । गएराति स्थानीय ३७ बर्षीया रीना रायमाझीको घरमा १०/१५ जना नकावधारीको समूह प्रवेश गरी धनमाल लुटेको प्रहरीले जनाएको छ ।
डाँकाले ३ तोला सुनका गहना, नगद १ हजार ५ सय रुपियाँ र १ थान मोवाइल सेट लुटपाट गरी फरार भएको प्रहरी भनाई छ ।
त्यसै गरेर रुपन्देहीकै करैया–७ बस्ने धनन्जय ज्ञवालीको घरबाट पनि लुटपाट भएको छ । आज विहान नकाब लगाएर आएको समूहले नगद २० हजार रुपियाँ तथा ९ तोला बराबरका सुनका गहना लुटपाट गरेका छन् ।

प्रतिक्रिया