नेपालको विद्युत् उत्पादन दक्षिण एसियामै कम

काठमाडौं, ४ भदौ । नेपालको जलविद्युत्् उत्पादन दक्षिण एसियाकै सबैभन्दा कम भएको पाइएको छ । जलविद्युत् उत्पादन सुरुआतका हिसाबले अग्रपंक्तिमै रहेको मुलुक नेपालमा अहिलेसम्मको उत्पादन भने सबैभन्दा कम पाइएको हो ।
अहिलेसम्म सम्भाव्यता अध्ययन भएको ८३ हजार मेगावाट क्षमतामध्ये १ दशमलव ५३ प्रतिशत मात्र विद्युत् उत्पादन भएको छ । जुन दक्षिण एसियाका अन्य राष्ट्रका तुलनामा सबैभन्दा कम हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालमा अहिलेसम्म ६ सय ५९ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ ।
भारतले १ लाख ४८ हजार ७ सय मेगावाट क्षमतामध्ये ४६ दशमलव ४८ प्रतिशत (३९ हजार ६० मेगावाट), पाकिस्तानले एक लाख मेगावाट क्षमतामध्ये ११ दशमलव ११ प्रतिशत (६ हजार ५ सय ५५ मेगावाट) र भुटानले ३० हजार मेगावाट क्षमतामध्ये ६ दशमलव २० प्रतिशत (१ हजार ४ सय ८८ मेगावाट) विद्युत् उत्पादन गरेका छन् । श्रीलंकामा २ हजार ५ सय ५० मेगावाट क्षमतामध्ये ५४ दशमलव ९३ प्रतिशत (१ हजार ४ सय १ मेगावाट) र बंगलादेशमा ७ सय ७७ मेगावाट क्षमतामध्ये ३० दशमलव ४६ प्रतिशत (२ सय ३० मेगावाट) विद्युत् उत्पादन भएको छ ।
‘दक्षिण एसियामा सबैभन्दा कम विद्युत् उत्पादन गर्ने मुलुक नेपाल नै हो,’ प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे भन्छन्, ‘दक्षिण एसियामा कुल उत्पादन क्षमतामध्ये २३ दशमलव १५ प्रतिशत विद्युत्् उत्पादन भएको छ र नेपालको जम्मा क्षमताको १ दशमलव ५३ प्रतिशत मात्र छ ।’
नेपालमा ५ सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत् आयोजनाबाट पहिलोपटक सन् १९११ मा बिजुली निकालिएको थियो । तर, एक शताब्दी पार गर्दा पनि उत्पादन भने डेढ प्रतिशतमा सीमित छ । भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेशलगायत मुलुकमा नेपालभन्दा पछि मात्र उत्पादन सुरु भएको थियो । भुटानमा सन् १९६१ मा, पाकिस्तानमा १९२५ मा र श्रीलंकामा १९४१ पछि विद्युत् उत्पादन भएको थियो । ती राष्ट्रले उत्पादनमा प्रगति गरिसके पनि नेपालको अवस्था भने सुस्त छ । भारतमा भने सन् १८९७ मै विद्युत् उत्पादन सुरु भएको थियो ।
०४६ सालको राजनीतिक परिवर्तनपछि ४३० मेगावाट विद्युत् उत्पादन भए पनि त्यसअघिको अवधिमा जम्मा २ सय २९ मेगावाट मात्र उत्पादन भएको थियो । ‘सम्भावना भए पनि उत्पादन भने न्यून नै हो,’ ऊर्जासचिव हरिराम कोइरालाले भने ।
सरकारले नीति तथा कार्यक्रममा जलविद्युत्लाई प्राथमिकतामा राख्ने गरे पनि त्यसअनुरूप बजेट विनियोजन नहुनु, आयोजना कार्यान्वयन गर्न नसक्नु, लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढ्नु, आयोजनामा राजनीतिक हस्तक्षेपलगायत कारणबाट उत्पादन बढ्न सकेको छैन ।
ऊर्जा विश्लेषक डा. कमल रिजाल जलविद्युत्बारे दीर्घकालीन योजनाको अभाव, माफियाको चंगुलमा जलविद्युत् क्षेत्र पर्नु, सरकार परिवर्तन हुनासाथ नयाँ आयोजना ल्याउने गलत प्रवृत्तिले उत्पादन बढ्न नसकेको बताउँछन् ।
विगतमा जलविद्युत्मा ध्यान दिन नसक्दा पनि उत्पादन बढ्न नसकेको ऊर्जासचिव कोइरालाको ठम्याइ छ । ‘विगतमा विद्युत् उत्पादन बढाउनका लागि योजना कार्यान्वयनमा कमजोरी देखियो,’ उनी भन्छन्, ‘नेपाल–भारत विद्युत् व्यापार सम्झौता पनि भएन, लाइसेन्स होल्ड गर्ने प्रवृत्ति पनि बढ्यो ।’
हुन त जलविद्युत्को क्षमताबारे विस्तृत अध्ययन हुन सकेको छैन । विगतमा डा. हरिमान श्रेष्ठले गरेको अध्ययनले ८३ हजार मेगावाट भनेकोलाई नै आधिकारिक मानिएको छ । कतिपयले डेढ लाख मेगावाट क्षमता रहेको दाबी पनि गर्दै आएका छन् ।

देश उत्पादन प्रतिशत

नेपाल १.५३
भुटान ६.२०
पाकिस्तान ११.११
बंगलादेश ३०.४६
भारत ४६.४८
श्रीलंका ५४.९३

प्रतिक्रिया