मन्त्रीहरू नै बैठकमा उपस्थित हुँदैनन्

काठमाडौं, ४ भदौ । विगतमा प्रधानमन्त्रीले जलवायु परिवर्तन परिषद्को बैठक डाक्दा सबैजसो सदस्य उपस्थित हुन्थे । प्रधानमन्त्रीसहित १३ मन्त्री, ८ विज्ञ, मुख्यसचिवसहित २ सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र एक सदस्य गरी जम्मा २५ सदस्यीय परिषद् बैठकमा दुई/चारजना मात्रै अनुपस्थित रहन्थे ।

अहिले भने अवस्था ठीक उल्टो छ । परिषद् बैठक बस्दा आधा सदस्य जुट्न पनि मुस्किल पर्छ । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सबैजसो सदस्य उपस्थित हुने गरे पनि त्यसपछिका प्रधानमन्त्रीको पालामा बैठकमा आधाभन्दा कम सदस्य उपस्थित हुँुदै आएको परिषद् स्रोतको दाबी छ ।
‘अचेल ३/४ जना विज्ञ सदस्य, प्रधानमन्त्रीसहित एक/दुईजना मन्त्री र अरू एक–दुईजना गरेर आधाभन्दा कम मात्रै बैठकमा पुग्छन्,’ स्रोत भन्छ, ‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पाँचवटा बैठकसम्म सबैजसो आउँथे, पछिल्ला दुई प्रधानमन्त्रीको पालामा आउनेभन्दा नआउने बढी छन् ।’
नेपालकै पालामा प्रधानमन्त्री अध्यक्ष रहनेगरी ८ साउन ०६६ मा परिषद् गठन भएको थियो । जसको उपाध्यक्ष उपप्रधानमन्त्री रहने व्यवस्था छ । परिषद्मा प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित वातावरण, वन तथा भूसंरक्षण, अर्थ, परराष्ट्र, कृषि, ऊर्जा, उद्योग, स्वास्थ्य तथा जनसंख्या, गृह, स्थानीय विकास र कानुनमन्त्री गरी १३ जना सदस्य छन् । परिषद्मा मुख्यसचिव, योजना आयोगका उपाध्यक्ष, आयोगकै एक सदस्यसमेत सदस्य छन् । त्यसबाहेक डा. मदन कोइराला, भूषण तुलाधर, डा. सुरेशदास श्रेष्ठ, प्रेम दंगाल, बद्रीप्रसाद खतिवडा, दावा स्टिभन शेर्पा, डा. अरुण रिजाल र धनञ्जय आचार्य विज्ञ सदस्य छन् ।
जलवायु परिवर्तनसँग सम्बन्धित नीति–नियम, कार्यक्रम तथा योजनालगायत दीर्घकालीन विषयवस्तुबारे छलफल र मार्गनिर्देशनका लागि गठित परिषद्को हालसम्म नौवटा बैठक बसेको छ । जसमा सबैभन्दा बढी नेपालको पालामा ५, झलनाथ खनाल प्रधानमन्त्री हँुदा २ र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि २ पटक बैठक बसेका छन् ।
परिषद् बैठक पछिल्लोपटक दक्षिण अफ्रिकामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)को १७औँ बैठक हुनुअघि २०११ नोभेम्बरमा बसेको थियो । अधिकांश बैठकमा नियमित हुनेमा प्रधानमन्त्रीसहितको बैठक भए प्रधानमन्त्री नत्र वातावरणमन्त्री, परिषद्का सदस्य–सचिव रहेका वातावरणसचिव, योजना आयोगबाट एकजना, विज्ञ सदस्यमध्ये कोइराला, तुलाधर, श्रेष्ठ र रिजाल मात्रै रहेको स्रोतले जनाएको छ ।
मन्त्रालयले बैठकबारे सबै सदस्यलाई खबरै नगर्ने हुँदा बैठकमा सहभागीको संख्या कम भएको विज्ञ सदस्य डा. श्रेष्ठको भनाइ छ । ‘एक त सबैलाई खबर गरिन्न, अर्को कुरा के विषयमा बैठक बस्दै छ जानकारी गराइन्न,’ उनले सौर्यसँग भने, ‘त्यसैले होला सहभागी हुनेको संख्या न्यून भइरहेको छ ।’ उनले कतिपय सदस्य त सुरुका केही बैठकमा बाहेक अरूमा सहभागी नभएको बताए ।
वातावरण मन्त्रालयले भने बैठक नियमित भएको र त्यसमा सहभागिता उल्लेख्य रहेको दाबी गरेको छ । ‘यतिजना उपस्थित हुनैपर्छ भन्ने छैन तर नियमित रूपमा बैठक बस्दा सहभागिता राम्रै भइरहेको छ,’ वातावरणसचिव कृष्ण ज्ञवालीले भने, ‘अब एक महिनामा अर्को बैठक बस्दै छ ।’

प्रतिक्रिया