नेकपा–माओवादीको महाधिवेशन सर्‍यो

काठमाडौं, १ भदौं । एकीकृत माओवादीबाट विभाजित नेकपा–माओवादीले महाधिवेशन पुस महिनाको अन्तिम सातासम्म सारेको छ ।
काठमाडौंमा आज सम्पन्न पोलिटव्युरो बैठकले महाधिवेशन आगामी पुस–२५ देखि २९ गते सम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा–माओवादीले यस अघि पुस–१ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । आन्तिरिक तयारी देखाउँदै महाधिवेशन केही समय पछि सारिएको प्रवक्ता भुसालले बताईन ।
‘आगामी पुस–२५ गते काठमाडौंमा महाधिवेशन गर्ने ठेगान गरियो,’ बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सदस्यता नवीकरण र दस्तावेज तयारी असोज मसान्तसम्म गरिसक्ने निर्णय भएको छ ।’
नेकपा–माओवादीले महाधिवेशनका लागि राजनीतिक, संगठनात्मक दस्तावेज लेखनको जिम्मा पदाधिकारीलाई दिएको छ ।
‘सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति चयन भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
मंसिर–१ गतेदेखि मसान्तसम्म जिल्ला समिति र त्यसभन्दा तल्ला निकायको सम्मेलन गरिसक्ने जनाएको नेकपा–माओवादीले पुस–१ गतेदेखि १० सम्म राज्य सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेकपा–माओवादीले पार्टी पुनःगठनपछि देशैभरि उत्साहजनक रुपमा संगठनात्मक कामहरु भएको जनाएको छ । उसले भनेको छ, ‘खासगरी जनयुद्धकालका ६० प्रतिशतभन्दा बढी कार्यकर्ताहरु नेकपा–माओवादीमा आबद्ध छन् ।’
राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त र एकल आन्दोलनका लागि पहल गर्ने निर्णय भएको समेत प्रवक्ता भुसालले बताईन ।

प्रतिक्रिया