चेपाङ गाउँमा प्रधानमन्त्री

चितवन, १ भदौं । ‘वर्षौंदेखि खोरिया फाँडेर खेती गर्दै आएका छौँ,’ गाउँमै प्रधानमन्त्री आइपुगेपछि महेन्द्र चेपाङले भने, ‘वन कार्यालयका कर्मचारीले कवुलियती वन र सामुदायिक वन भन्दै खोरियामा खेती गर्न रोक लगाएका छन् ।’

प्रधानमन्त्री भट्टराईसँग चेपाङ समुदायले गुनासो गरेका थिए, ‘राज्यले हेरेन, आफै मजदुरी गरेर कमाएको पैसाले बलियो घर बनाउन खोज्दा पनि वन कर्मचारीले भत्काइदिन्छन् ।’ यस्तै लालबहादुर प्रजाले भने, ‘आर्थिक अभावले छोरालाई पढाउन सकिन, कुनै रोजगारी खोजिदिन पनि सकिन,’ उनले प्रधानमन्त्रीलाई बिन्ती चढाउँदै छोराछोरीका लागि रोजगारी खोजिदिन आग्रह गरे ।
प्रत्येक महिना एक रात गाउँमा वास बस्न जाने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार सिद्धि पुगेका थिए । सदरमुकाम भरतपुरबाट ३० किलोमिटर टाढा रहेको विकट पहाडी गाविसमध्ये एक सिद्धिमा सरकारी कार्यालयका प्रमुख पनि पुग्दैनन् । त्यहीँको नियुक्ति लिएका सरकारी कर्मचारी पनि कमै मात्र गाविसमा भेटिन्छन् । देशकै कार्यकारी प्रमुख प्रधानमन्त्री, सरकारका मुख्य सचिव तथा अन्य सहयोगीसहित गाउँमा आएपछि अब केही हुन्छ कि भन्ने विश्वासले हौसिएका स्थानीय चेपाङ समुदायले पालैपालो आफ्ना समस्या राखेका थिए ।
सिद्धि–७ का ७० वर्षीय रत्नबहादुर प्रजाले आफूले ७० वर्ष हुँदासम्म वृद्धभत्ता नपाएको गुनासो गरे । ७० वर्षीय वृद्धले पैसा नभएकै कारण उपचार गर्न नपाएको बताउँदा अधिकांश अतिथि भावुक बनेका थिए । प्रधानमन्त्रीले चासोपूर्वक सुनेका बेला कसैले व्यक्तिगत समस्या राखे, केहीले गाउँको समस्या राखे । चेपाङ समुदायका युवायुवती तथा अगुवाले आफ्ना समस्या खुलेर राखेको देखेर प्रधानमन्त्रीले चासोपूर्वक सुन्दै टिपोट पनि गरेका थिए ।
‘चेपाङका छोरा गाडी चलाउन सक्दछन् तर गाडी किन्न सक्ने क्षमता छैन, त्यसैले गाडी किनेर चलाउन सक्ने गरी चेपाङका छोराका लागि घुम्ती कोष खडा गरिदिने व्यवस्था मिलाइदिनुपर्‍यो प्रधानमन्त्रीज्यू,’ भिडको भित्रबाट उठेर चेपाङ युवा राजकुमारले सबैको ध्यान खिचे । गामबेसीको खबर पत्रिकाका प्रकाशक सम्पादक केपी किरण शर्माले सिद्धि गाविसको आर्थिक विपन्नता र भौगोलिक विकटताका कारण पठनपाठनबाट वञ्चित भएका २५ बालबालिकालाई पूर्वी चितवनको पिठुवामा रहेको विन्देश्वरी निम्नमाविमा पढाउन थालिएको र आर्थिक अभाव भएकाले दैनिक दाल–चामल मागेर खुवाउनुपरेको जानकारी गराए ।
चेपाङ समुदायका तर्फबाट लिखित मागपत्र बुझाउँदै दिनेश चेपाङले पुल नहँुदा आवतजावतमा समस्या, बिरामी हिँडाउन र पढ्न आउनजान कठिनाइ परेको बताए । घन्टौँ हिँडेर विद्यालय पढ्न जानुपर्ने, विद्यालयमा दरबन्दी नहुँदा पठनपाठन राम्रो नहुने भएकाले बालबालिकाको शैक्षिकस्तर कमजोर रहेको र दरबन्दीका शिक्षक र छात्रावाससहितको मावि गाउँमा सञ्चालन गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे ।
चितवनका एलडिओ बन्धुप्रसाद बाँस्तोलाले गाविसको परिचय गराउँदै एक प्रतिशत गाविसवासीले मात्र उब्जनीबाट एक वर्ष खान पुर्‍याउने बताए । सबैका कुरा सुनेपछि प्रधानमन्त्री भट्टराईले सिद्धिलगायतका चितवनका चेपाङ समुदायका लागि आवास, भूमि, शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउन जिल्लास्थित सरोकारवाला सरकारी निकायसँग समन्वय गरी तत्काल काम अगाडि बढाउन चितवनका एलडिओ बाँस्तोलालाई निर्देशन दिए । प्रधानमन्त्री भट्टराईले चेपाङले प्रयोग गर्दै आइरहेको जग्गा उनीहरूको नाममा हुनुपर्ने बताए ।
प्रधानमन्त्री भट्टराईले चेपाङ समुदायको शैक्षिक विकासका लागि छरिएर रहेका विद्यालयलाई एकत्रित गरी आवासीय शिक्षा सञ्चालन गर्न समेत निर्देशन दिएका छन् । भूमि प्रयोग गरेको तथा घर बनाएको नाममा चेपाङ समुदायले जिल्ला वन कार्यालयबाट सास्ती पाएको खबरले ध्यानाकर्षण भएको बताउँदै भट्टराईले तत्काल रोक्न चितवनका सिडिओ हिमनाथ दवाडीलाई निर्देशन दिए । जिल्लास्तरबाट हुने काम तत्काल गर्न र जिल्लास्तरमा असम्भव भए केन्द्रमा लेखेर पठाउन उनले
आग्रह गरे ।
शक्तिखोर हुँदै कडा सुरक्षाबीच सिद्धि पुगेका प्रधानमन्त्री भट्टराईले सिद्धिका चेपाङसँग अन्तरक्रियासमेत गरेका थिए । उनले चेपाङ समुदाय जागृत भएर चितवनसहित आसपासको चेपाङ बाहुल्य क्षेत्रको छुट्टै चेपाङ स्वायत्त क्षेत्र बनाएर आफ्नो क्षेत्रको शासन आफ्नो हातमा लिएपछि मात्र चेपाङ समुदायको जीवनमा वास्तविक परिवर्तन आउने बताएका थिए ।
गरिबीका कारण ५ वर्षदेखि ओढारमा बस्दै आएका ८३ वर्षीय बन्दीपुरे चेपाङलाई प्रधानमन्त्री भट्टराईले सरकारका तर्फबाट नगद १० हजार रुपियाँ प्रदान गरे । बन्दीपुरे चेपाङकै नामबाट गरिबी निवारण कोषले स्थापना गरेको बन्दीपुरे सामुदायिक संस्थालाई प्रधानमन्त्री भट्टराईले साढे तीन लाख रुपियाँको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री भट्टराईले ८० जोर लत्तापडा, ६५ बोरा चामल र ६५ वटा कम्मल सिद्धि गाविसका सचिवलाई हस्तान्तरण गरे । ट्रयाक्टर चढेर सिद्धि पुगेका प्रधानमन्त्रीले भरतपुरमा भने तनाव झेल्नुपरेको थियो । भरतपुर विमानस्थलबाट मध्यक्षेत्रीय तालिम केन्द्र जाँदै गर्दा प्रधानमन्त्री भट्टराईलाई नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका युवा कार्यकर्ताले कालो झन्डा देखाएका थिए भने बिहीबार फर्कने क्रममा पनि कालो झन्डाको सामना गर्नुपरेको थियो । प्रहरीले दमन गरेको भनेर युवा विद्यार्थीले बिहीबार बिहान ११ बजेपछि चितवन बन्द गर्दा यात्रुले निकै सास्ती
पाएका थिए ।

प्रतिक्रिया