निजी उच्चमाविमा चर्को शुल्क

विराटनगर, ३१ साउन । मोरङमा सञ्चालनमा रहेका निजी उच्चमाविले विद्यार्थीसँग चर्को शुल्क असुल गरेपछि विद्यार्थी र अभिभावक मारमा परेका छन् । मोरङका एकसय तीन उच्चमाविले आफू खुसी शुल्क असुल्दै आएका हुन् ।

उच्चमाविहरूले प्रतिविद्यार्थी दुई हजारदेखि ५१ हजार रुपियाँसम्म शुल्क लिने गरेका छन् । अभिभावक संघ र विभिन्न शिक्षासँग सम्बद्ध संघसंस्थाको निर्णय भन्दै उच्च माविले मनपरी शुल्क विद्यार्थीसँग लिन थालेपछि समस्या भएको अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराईले बताए ।
कम्प्युटर ल्याब, खेलकुद, सुविधा सम्पन्न भवन, पुस्तकालय, अतिरिक्त क्रियाकलाप, विद्यालय विकास शुल्कलगायत शीर्षकमा विद्यार्थीसँग उच्च माविले चर्को शुल्क लिँदै आएको हो । सेवा सुविधा दिने बहानामा शुल्क असुल्ने गरिए पनि कुनै पनि गतिविधि सञ्चालन नगरिएको पाइएको अभिभावक संघले जनाएको छ ।
विद्यार्थीसँग कति शुल्क उठाउने भन्नेमा स्पष्ट नियम कानुन नबनेका कारण शुल्क निर्धारण र असुलीमा उच्च माविको मनोमानी बढेको उच्च माध्यमिक शिक्षा परिषद् विराटनगरका प्रमुख रामाकान्त तिवारीले जानकारी दिए । शुल्कका सम्बन्धमा नियमन नगरिएपछि शुल्क असुल्नेमा मनपरीतन्त्र चलेको गुनासो आएको जानकारी दिँदै उनले परिषद्ले उच्च माविको अनुगमन गरेर विद्यार्थी र अभिभावकलाई समस्या नपर्ने गरी शुल्क उठाउन निर्देशन दिइसकेको बताए । तर, कानुनको अभावमा शुल्कमा एकरूपता ल्याउन र अनावश्यक शुल्क नउठाउन सुझाब दिनेबाहेकका अन्य कारबाही गर्न नसकिएको उनको भनाइ छ ।
परिषद्का अनुसार पूर्वाञ्चलमा सञ्चालनमा रहेका ६ सय ७५ उच्च माविमा शुल्कमा एकरूपता छैन । मोरङ, झापा, सुनसरीलगायत जिल्लामा रहेका उच्च माविले विद्यार्थीबाट बढी शुल्क लिने गरेको अनुगमनका क्रममा देखिएको छ । विभिन्न माध्यमबाट विज्ञापन गरेर विद्यार्थीलाई आफ्नो उच्च माविमा प्रवेश गराउने र मनपरी शुल्क असुल्ने गरेको अभिभावक संघका अध्यक्ष भट्टराईले बताए । पूर्वाञ्चलका निजी उच्च माविमा एक लाख ८० हजार विद्यार्थी अध्ययनरत छन् ।
विराटनगरका अरनिको, अर्किड, शिक्षादीप उच्च माविलगायतले विद्यार्थीको ढाडसेक्ने गरी शुल्क असुल्दै आएका छन् । तर, उच्च माविको साझा संगठन हिसानले प्रत्येक उच्च माविले विद्यार्थीसँग लिने शुल्क निर्धारण गरिसकेको दाबी गरेको छ । हिसानले प्रतिविद्यार्थी अधिकतम ५१ हजार रुपियाँसम्म शुल्क उठाउन पाउने निर्णय गरेको जनाइएको छ । हिसान मोरङका अध्यक्ष बलराम पन्तले उच्च माविले दिने सेवासुविधा र पठनपाठनको गुणस्तरका आधारमा विद्यार्थीसँग शुल्क उठाउने निर्णय हिसानले गरेको बताए ।

प्रतिक्रिया