प्रेस क्लबका नाममा लाखौ ठगी

वीरगन्ज, २९ साउन । नेपाल प्रेस क्लब पर्साका नाममा लाखौँ रुपियाँ ठगी भएको छ । प्रेस क्लब पर्साको सहयोगका नाममा सांस्कृतिक कार्यक्रम आयोजना गर्न भनी विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट लाखौँ रुपियाँ ठगी भएको हो ।

क्लबको सहयोगार्थ भनी एक हजार रुपियाँ दरका टिकट केही व्यक्तिले पर्सा र बारा जिल्लाअन्तर्गतका सरकारी र गैरसरकारी कार्यालय तथा उद्योगहरूमा बिक्री गरी लाखौँ रुपियाँ असुल गरी फरार भएका छन् ।
एक हजार रुपियाँ दरका सो टिकट करिब पाँच सय थान बिक्री गरिएको छ । क्लबका अध्यक्ष प्रेम सर्राफ हुन् । सुरसंगम साँझ भन्ने कार्यक्रमको नाममा नेपाल प्रेस क्लब लेखिएको तथा स्टाम्पसमेत लगाइएको २७ साउन ०६९ को मिति र स्विमिङ पुल आदर्शनगर वीरगन्ज स्थान र समय साँझ ५ बजे तोकेर टिकट बिक्री गरिएको फेला परेको छ ।
कार्यक्रम हुने भनिएको दिन शनिबार साँझ ५ बजे सो टिकट लिई दर्शक वीरगन्ज उपमहानगरपालिका कार्यालयद्वारा सञ्चालित आदर्शनगरस्थित स्विमिङ पुलमा पुग्दा टिकटमा उल्लेख भएको संस्था र कार्यक्रमबारे स्विमिङ पुल कर्मचारीले आफूहरूलाई केही थाहै नभएको भन्ने जवाफ आएपछि ठगी भएको रहस्य खुलेको हो ।
कार्यक्रम हेर्न टिकट लिएर नारायणी सिँचाइ कार्यालयका कर्मचारी, एरोटेक प्रालिका कर्मचारीलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी स्विमिङ पुल परिसरमा पुगेका थिए । तर, स्विमिङ पुलका कर्मचारी तथा व्यवस्थापकको जवाफ सुनेर आश्चर्य–चकित भई उनीहरू निराश भएर फर्किन बाध्य भए ।
क्लबका अध्यक्ष सरार्फसँग बारम्बार सम्पर्क गर्दा पनि उनी आउन चाहेनन् । यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीे शम्भु कोइराला पनि सम्पर्कमा आएनन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी रवीन्द्र केसीसँग बुझ्दा उनले पनि आफूलाई यसबारे अहिलेसम्म कुनै किसिमको जानकारी नभएको बताए ।

प्रतिक्रिया