फ्यान्टा र स्प्राइटमा ढुसी

भैरहवा, २८ साउन । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादनमा अखाद्य पदार्थ भेटिएको छ । जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसिएको कोक र फ्यान्टा लगातार फेला परेपछि रूपन्देहीमा चिसो पेयका उपभोक्ता आतंकित भएका छन् ।

रूपन्देहीको करहियामा ढुसी परेको फ्यान्टा र स्प्राइट फेला परेको हो । करहियाका विजय ज्ञवालीले शृंगेश्वर गुल्मेली किराना पसल बुटवलबाट २१ साउनमा खरिद गरेर ल्याएको डेढ लिटर स्प्राइटमा ढुसी भेटिएको हो । सिलबन्दी बोतलभित्र अखाद्य वस्तुका साथै फोहोरका डल्ला, लेदो तथा ढुसी भेटिएको ज्ञवालीले बताए । यस्तै, भैरहवामा २५ साउनमा सिलबन्दी कोकको बोतलमा अखाद्य वस्तु भेटिएको छ । स्थानीय रोज होटलमा कोकमा ढुसी भेटिएको हो ।
करहिया–४ का ६५ वर्षीय केशव भट्टराईले पनि अखाद्य पदार्थ रहेको सिलबन्दी फ्यान्टा फेला पारेका छन् । उनले २६ साउनमा किनेको फ्यान्टामा सिसाको टुक्रा फेला परेको बताए ।
रूपन्देहीमा लगातार कोक, फ्यान्टा र स्प्राइटमा अखाद्य पदार्थ फेला परेपछि बहुराष्ट्रिय कम्पनीको उत्पादनप्रति नै जनविश्वास घटेको छ । भट्टराईले भने, ‘गर्मीमा चिसो खान पनि डराउनुपर्ने भयो ।’
लगातार अखाद्य पदार्थ भेटिएपछि रुपन्देहीका चिसो पेयका उपभोक्ता आक्रोशित भएका छन् । बजारमा रहेका पेय पदार्थको अनुगमन र कारबाहीमा प्रशासनले चासो दिनुपर्ने करहियाका विजय ज्ञवालीले बताए । उनले भने, ‘अखाद्य वस्तु मिसिएका पेय पदार्थ बिक्रीमै रोक लगाउन जरुरी छ । प्रत्येक दिनजसो कोक, फ्यान्टा र स्प्राइटमा अखाद्य वस्तु भेटिए पनि प्रशासन र स्थानीय उद्योग वाणिज्य संघले कुनै प्रतिक्रिया दिएको छैन ।
फ्यान्टा र स्प्राइटमा अखाद्य वस्तु भेटिएपछि स्थानीय डिलरमार्फत सम्पर्क गर्दा नेपाल बोटलर्स तराई लिमिटेड भरतपुर चितवनका शैलेन्द्र चतुर्वेदीले चित्तबुझ्दो जवाफ नदिएको पाइएको छ । स्थानीय डिलरमा उपभोक्ताको गुनासो आएपछि डिलरहरूले पनि कोक, फ्यान्टा, स्प्राइटका सट्टा अन्य चिसो पेयमा उपभोक्तालाई आकर्षित गर्न खोजेका छन् ।

प्रतिक्रिया