सगरमाथा आधारशिविरमा मन्त्रिपरिषद् बैठक बस्नुको तात्पर्य कान्छी तामाङलाई थाहा थिएन । न त कोपनहेगनको विश्व वातावरण सम्मेलनको औचित्य नै बुझेकी थिइन् । नेपाली प्रतिनिधिहरू ‘कालापत्थर’ को ढुंगो बोकेर कोपनहेगन पुगेका थिए रे भन्ने सुने उदेकले हाँस्दी हुन्, मुहारमा चढिसकेका बत्तीसै मुजा खुम्च्याएर ।
खाडीचौरस्थित भोटेकोसी किनारैमा छ उनको घर । दुई वर्षअगाडिको हिउँदमा घरछेउ घाम तापिरहेकी भेटिएकी उनलाई चिन्ता थियो त एउटै कुराको– बाढी । जसले उनलाई बारम्बार तर्साइरहन्छ । सुक्खायाममा निस्फिक्री बसे पनि बर्खाका दिनमा चाहिँ मन खुम्च्याएर खोलाका बहावतिर आँखा डुलाउनु उनको नियति थियो । रातिको एकान्तमा झनझनै उचालिँदै गएझैँ लाग्ने सिरानैको भोटेकोसीको सुसाहटले निदाउने तरखरमा रहेको उनको ७४ वर्षे बूढो शरीरलाई छिनछिनमा चुनौती दिइरहँदो हो । पत्थरहरूमा बजारिने वेगवान् बहावहरूले जोरिनै आँटेका आँखालाई झसंग बनाइदिँदा हुन् । कुनचाहिँ भेलले घरैसमेत बढार्ने हो, थाहा हुँदैन । त्यसैले त हरेक रात उमेरले दिनेभन्दा बढी चनाखो भएर बिताउनुपर्ने विवशता सुनाउँथिन् ।
भोटेकोसीको ताण्डवले कतिसम्म भयावह परिणति दिलाउन सक्छ, योचाहिँ उनलाई राम्ररी थाहा छ । बर्खामा भोटेकोसी झनै रिसाहा भएको देखेकी छन्, कतिको सिरीखुरी बगाएर दोलालघाट कटाइदिएको छ त कतिको इहलीला एक गाँस पारिदिएको छ । कतिका गाईबस्तु बढारिदिएको छ त एकैछिनमा बेघर बनाइदिएको छ ।
सन् १९९६ को कहालीलाग्दो स्मृतिले दुई वर्षअगाडि भेट्दा पनि कान्छीको आँत हल्लाइरहेकै देखिन्थ्यो । लार्चामा गएको पहिरोले कोसीलाई छेकेपछि जम्मा भएको पानी बाढी बनेर हुत्तिँदा २२ वटा घर बगेका थिए । ५४ जनाले ज्यान गुमाएको तथ्यांक जीवितै छ । रातिको समयमा आएको बाढीले केही मिनेटमै अरनिको राजमार्गको १ सय ५० किमी सडक बगाएको थियो । इतिहासदेखि नै यस्ता बाढी थुप्रै भोगिसकेका छन् भोटेकोसीआसपासका बस्तीले, जसले यो क्षेत्र उच्च जोखिममा रहेको संकेत गर्छन् ।
बर्खामा मात्र बाढीको जोखिम हुन्छ भन्ने ‘अल्पज्ञान’ ले कान्छीको बुझाइलाई केही साँघुरो बनाइदिएको देखिन्थ्यो । उनलाई थाहा थिएन, भोटेकोसीको उग्रता हिउँदमै पनि विनाशका लप्का बोकेर उर्लन सक्छ भनेर । ०३८ सालमा आएजस्तो विनाशकारी बाढी उनले कहिल्यै देखेकी थिइनन् । सोचेकी रहिछन्– पक्कै माथिल्लो भेगमा परेको मुसलधारे वर्षाले भोटेकोसीलाई यतिको उग्र बनाएको हुनुपर्छ । तर, त्यसको यथार्थ तिब्बतको जाङजाङबो हिमताल थियो । जुन विस्फोट हुँदा भयानक ‘हिमाली सुनामी’ बोकेर तिब्बतदेखि बाह्रबीसे हुँदै खाडीचौरतिर ओह्रालिएको थियो । भोटेकोसीको बहावलाई डरलाग्दो बनाउँदै छेउछाउका थुप्रै भौतिक संरचना बढारेर ल्याएको थियो । पाँच जना मान्छे, ४१ वटा घर, थुप्रै घट्ट, नेपाल–चीन सिमानाको मितेरीसहित दुईवटा पक्की पुललाई आहारा बनाउँदा भौतिक क्षति मात्रै गराएन, कान्छीजस्ता निमुखा प्राणी भित्रभित्रै छटपटिएर आºनै खप्परलाई धारेहात लगाउन थाले । फुल्पिङमा भाँच्चिएको पुलको अवशेष अहिले पनि देख्न सकिन्छ । सुनकोसी हाइड्रोपावरको डाइभर्सन भत्कँदा तीन मिलियन युएस डलर बराबरको क्षति हुन पुग्यो । धेरै ठाउँका सडकखण्ड लुछेर लग्यो । अहिले अलिक माथिबाट जोडिएका खण्डबाट तलतिर हेर्दा देखिने सडकका छिन्नभिन्न अवशेषले कान्छीहरूको आँत एकाएक चिसो बनाइदिन्छ । सानासाना खुसीहरूले हाँस्न अभ्यस्त हुँदै गरेका उनीहरूको मुटु फेरि कुँडिन थाल्छ । हिमालदेखि पछारिँदै आएको यो चिसो वेगले भोटेकोसीको पुरानो बहाव नै परिवर्तन गरिदिएको छ ।
यो जोखिम फेरि पनि निम्तिने सम्भावना बढेर गएको छ । विश्वमा भइरहेको तापक्रम वृद्धिलाई यसको कारण देखाउँछन्, अध्ययनहरू । तापक्रम वृद्धिको प्रत्यक्ष असर सबैभन्दा पहिले हिमाली क्षेत्रमै देखिएको छ । हिमाली ढुंगामाटोबाट बनेको गेग्रेनलाई बरफले कज्याएर राखेको हिमतालको बाँध यसै पनि उति बलियो हुँदैन । बढेको तापक्रमले बाँधका रूपमा रहेको बरफलाई पगाल्ने क्रम तीव्र छ । बरफ जति पग्लन्छ बाँध उति नै पातलिँदै जान्छ । परिणाम– हिमताल गेग्रेनलाई भत्काएर वायुवेगले ओह्रालिन थाल्छ र बाटोमा आइपर्ने हरेक चीज बढारेर लैजान्छ । धीत मर्ने गरी जिन्दगी भोगिनसकेका लालाबालाहरू, परिवारलाई पौरख देखाउन संघर्षका अगाडि जवान पाखुरी सुर्किरहेकाहरू, अनि जीवनको उत्तराद्र्धमा पुगेर एक दिन भए पनि बढी बाँच्न भगवान् पुकारिरहेकाहरूको चाहना एक गाँस पारिदिन्छ, प्रकृतिको यो प्रलयंकारी कहरले । कोपनहेगनको वातावरणीय सम्मेलन र ‘कालापत्थर’ को ढुंगोले यसैलाई संकेत गरेका हुन्, जुन कान्छी तामाङलाई थाहा थिएन । थाहा पाए उनी झन् आत्तिएलिन् ।
हिमताल विस्फोटलाई नेपालले ध्यान दिएर हेर्न थालेको सन् १९८५ देखि हो, नत्र यसअघि मुलुक आफैँ पनि कान्छीजस्तै अज्ञान थियो । त्यति बेला खुम्बुक्षेत्रको डिग्चो हिमताल विस्फोट हुँदा १५ लाख अमेरिकी डलरको लागतमा निर्माणाधीन अवस्थाको नाम्चे साना जलविद्युत् परियोजना त ध्वस्त भयो नै, सगरमाथा राष्ट्रिय निकुञ्ज पनि नराम्ररी पिटियो । यसअघि थुप्रैचोटि भोटेकोसी, तामाकोसी र अरुण नदीमा आएका बाढी तिब्बती क्षेत्रबाट सुरु भएका कारण यो हिमतालकै कारणले हो भन्ने थाहा पाउँदैनथे पीडितहरू । कान्छीले जस्तै धेरैले त्यसलाई उच्च क्षेत्रमा भएको मुसलधारे वर्षाको परिणाम ठान्थे । हिमालय क्षेत्रमा मानिसको जानकारीमा आएको अहिलेसम्मकै सबैभन्दा विनाशकारी भने सन् १९५४ मा ब्रह्मपुत्र नदीको मुहान तिब्बतको साङबाङ्चो ताल विस्फोटलाई मानिन्छ । त्यसले १ सय २० किलोमिटर टाढाको ग्यात्से सहरसम्म अधिकतम क्षति पुर्याएको विवरण भेटिन्छ ।
सम्भावित जोखिमलाई कान्छी तामाङले भन्दा बाह्रबीसेवासीले अलि बढी बुझेका देखिन्थे । स्थानीय ७९ वर्षे वृद्ध रत्नकाजी यस्ता थुप्रै बाढीको सम्झना सुनाउँथे । ‘२००२ सालको लक्ष्मीपूजा, २०३८ साल अनि २०४४ सालमा आएको बाढी कहिल्यै बिर्सन सक्दिनँ’, उनी बेलीविस्तार लगाउँदै थिए– ‘३८ सालको बाढीले बाह्रबीसेको पुलै छोपेको थियो, थुप्रै गाईवस्तु अनि खेत नोक्सान गरिदियो, माथिका पुलहरू भाँचिदियो । बाह्रबीसेको पुलचाहिँ बचेको थियो ।’
हरेक वर्ष त्रासमै बित्छ रे बाह्रबीसेबासीको पनि । एक्कासि छोप्ने बाढीमा भ्याएसम्म भाग्नुबाहेकको उपाय हुँदैन रे † तापक्रम वृद्धिले तिब्बततिर फेरि हिमताल विस्फोटको जोखिम बढेको खबर फैलिएपछि उनीहरूको त्रासको पारो चढ्न थालेको छ । तर, यसबीच बाह्रबीसे बजार झनै बाक्लिइसकेको छ । भोटेकोसी किनारमै जोडिएर थुप्रै संरचना बनेका छन् । यसलाई उनीहरू बाध्यता बताउँथे– ‘भएभरको जग्गा–सम्पत्ति भनेकै यहीँ छ, छोडेर कहाँ जान सकिन्छ त ? बरु सरकारले नदीकिनारबाट यतिसम्म घर बनाउन नपाइने भन्ने नियम बनाएर नदीकिनारमा घरजग्गा हुनेहरूलाई सुरक्षित स्थानमा पुन:स्थापित हुन सहयोग गर्ने नीति ल्याइदिए पो हुन्थ्यो त †’
प्रकृतिको यो विनाशक हुंकारलाई हुत्याउन सक्ने सामथ्र्य उनीहरूको वशमा छैन । सकेसम्म भाग्ने, नसके निरीह बनेर विपत्तिको भेलसँग पराजित भएर जीवन समर्पण गर्ने । बाह्रबीसेमा थुप्रिएको यो जमघटले जनधन क्षतिको झनै भयावह रूप देखाउन सक्ने अनुमान गराउँछ, पुरानै विपत्ति दोहोरिइहाल्यो भने । गरुन् पनि के ? अन्त कुनै पहाडी क्षेत्रमा सरे रोजगारीको अवसर छैन । जीवन धान्नै धौ–धौ †
जोखिम न्यूनीकरणमा कुनै पहल नगर्ने अनि तिमीहरू जोखिममा छौ है भन्दै झकझक्याएजस्तो गर्ने सरकारी रबैया उनीहरूलाई झर्को लाग्न थालेको थियो । हिमताल विस्फोटको त्रासले पिटिइरहेका उनीहरू पानीसँगै डराउन थालेका देखिन्थे । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको बाँधसँग पनि । आयोजनाले खोलाको बहाव परिवर्तन गरिदिएर अन्तको जमिन पनि जोखिममा पारिदिएझैँ उनीहरूलाई लाग्थ्यो । आयोजनाका एक कर्मचारी बाँधबाट नै तर्सिनुपर्ने अवस्था नरहेकोमा आश्वस्त त पार्न खोज्थे । तर, यथार्थ यही हो, सन् १९८१ कै नियति दोहोरियो भने आयोजना आफैँ पनि पानीको विनाशक भेलसामु निरीह साबित हुनेछ ।
मितेरी पुलबाट ठाडो मुन्टो लगाएर हेर्दा निकै सम्पन्न देखिन्छ, चीनको खासाबजार । चिनियाँ सरकारले त हिमताल विस्फोटबाट हुन सक्ने जोखिम न्यूनीकरणका तयारी पूरा गरिसक्यो होला । कोपनहेगन पुगेर ‘ठूला राष्ट्रले उत्पादन गरेको हरितगृह ग्यासले हाम्रो हिमाली क्षेत्र जोखिममा पर्यो’ भन्दै विश्वलाई झकझक्याएर आएको नेपाल सरकारले भोटेकोसीछेउछाउका बासिन्दाका लागि चाहिँ के तयारी गर्यो त ? अहँ, दुई वर्षअगाडि भेटिएका बाह्रबीसेबासीलाई थाहा थिएन, जसरी कान्छी तामाङलाई थाहा थिएन † अहिलेसम्म पनि उस्तै होला कान्छीको अज्ञान † उस्तै डर होला बाह्रबीसेबासीलाई †
प्रतिक्रिया