नागासाकीवासीको कामना

टोकियो : जापानको नागासाकी सहरवासीले ६७ वर्षअघि अमेरिकाद्वारा सहरमा परमाणु बम खसाली गराइएको नरसंहारको बिहीबार स्मरण गरेका छन् । त्यस्तो नरसंहार विश्वका कुनै नागरिकले कहिल्यै भोग्नु नपरोस् भन्ने कामना उनीहरूले गरेका छन् ।
६७ वर्षअघि भएको दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्त ९ मा जापानको नागासाकी सहरमा अमेरिकाले परमाणु बम विस्फोट गराएको थियो । विष्फोटका कारण ७४ हजार नागरिकको ज्यान गएको थियो । तीन दिनअघि अथवा सन् १९४५ को अगस्त ६ मा जापानकै हिरोसिमामा त्यस्तै बम खसालिएको थियो । दुवै सहरमा गराइएको विष्फोटमा परी करिब साढे दुई लाख जापानी नागरिकको ज्यान गएको थियो ।
बिहीबार नागासाकीवासीले सोही घटनाको दु:खद् स्मरण गरे । बम विष्फोटबाट मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न नागासाकीमा आयोजित स्मरणसभाका सहभागीमाझ नागासाकी सहरका प्रमुखले जापानलाई आणविक केन्द्रमुक्त राष्ट्र बनाउन आह्वान गरे । आणविक केन्द्रका कारण आज पनि जापानी नागरिकले त्रासमा बाँच्नुपरेको उनले उल्लेख गरे ।
गत वर्षको मार्च महिनामा सुनामी र भूकम्प जाँदा आणविक भट्टी भत्किएपछि त्यस्ता भट्टी बन्द गरिएका थिए । जापानी नागरिकले त्यस्ता भट्टी पुन:स्थापना गर्न नहुने आवाज उठाइरहेका छन् । (एएफपी)

प्रतिक्रिया