विपन्न विद्यार्थी पढ्ने विद्यालय पानी चुहिएर बन्द

बारा, २६ साउन । आदिवासी, जनजाति एवं पिछडिएका जातिको बाहुल्य रहेको बाराको भरतगन्ज सिंगौल गाविसस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि पूरा भएको छैन ।

रकम अभावका कारण सो विद्यालयको भवन समयमा निर्माण हुन नसकेका कारण विद्यार्थी पानीमा रुझेर अध्ययन गर्न बाध्य भएपछि विद्यालय व्यवस्थापन समितिले वर्षायाम अवधिभर विद्यालय बन्द गरेको छ । ‘कक्षा कोठाको अभावमा पानीले रुझेर पढ्ने र पढाउने कुरा आउँदैन, त्यसैले विद्यालय वर्षायामभर बन्द गराएका छौँ,’ प्रधानाध्यापक श्यामकुमार शर्माले बताए ।
गाविसमा अन्य पाँच प्राथमिक विद्यालय रहे पनि विद्यालय गाविसको एकमात्र उच्च माध्यमिक विद्यालय भएकाले अध्ययनका लागि विद्यार्थीको चाप बढ्दै गएको छ । बिहान–बेलुकी दुईपटक मात्र चल्ने बससेवाबाहेक अन्य केही सवारीसाधन उपलब्ध नभएका कारण सिंगौलका विद्यार्थी अन्यत्र पढ्न १५ किलोमिटर टाढा निजगढसम्म जानुपर्ने समस्याले गर्दा अधिकांश विद्यार्थी गाउँमै पढ्न चाहन्छन् । ‘हामीजस्ता गरिबका छोराछोरीले हलो–कोदाली नगरी खान पाइँदैन, गाउँमै विद्यालय भएकाले पढ्न खोजेका हौँ, महिलालाई पढ्नकै लागि १५–२० किलोमिटर टाढासम्म जान कठिन हुन्छ तर विद्यालयको हालत भने यस्तो छ,’ छात्रा निर्मला गुरोले गुनासो व्यक्त गरिन् ।
‘गाउँको विद्यालयमा भए पढ्न र घरको काम पनि भ्याउन सकिने हुनाले त हाम्रा अभिभावकले स्कुल पठाएका हुन्, टाढा पढ्न पठाउन अभिभावकले नै मान्दैनन्, अनि कसरी हामीजस्ता गरिबले पढ्ने मौका पाउने ?’ सोही विद्यालयका छात्र जितलाल धामीले प्रश्न गरे । कोठाको अभावका कारण विद्यालयको पठनपाठनमा अवरोध आएपछि स्थानीय गाउँलेको १५ लाख रुपियाँको सहयोगमा निर्माणाधीन सो विद्यालय भवन समयमा सम्पन्न गर्नका लागि जिल्ला शिक्षा कार्यालय र बारा जिविससँग पटकपटक गुहार माग्दा पनि सुनुवाइ नभएपछि विद्यार्थी तथा अभिभावक निरास भएका छन् ।
‘विद्यालय गाविसकै एक मात्र उच्चमावि भएका कारण विद्यार्थीको चाप बढेपछि कक्षाकोठाको अभावमा भवन बनाउन त थाल्यौँ तर अन्य स्रोत केही नभएकाले अर्थ अभावका कारण भवन निर्माण पूरा हुन सकिरहेको छैन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरलाल चौधरीले भने । सरकारले गाउँगाउँमा विद्यालय खोल्ने भनेर भाषण गर्छ तर भएकै विद्यालयलाई समेत सहयोग नगरेको गुनासो पोख्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष निर्मलकुमार केसीले भने, ‘आदिवासी जनजातिको बाहुल्य रहेको यस गाविसको एक मात्र उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय र जिविसले संरक्षण गर्नुपर्नेमा बेवास्ता गर्दा विद्यालय नै बन्द हुने स्थितिमा पुग्यो ।’
निर्माण सुरु गरिएको चारकोठे विद्यालय भवनको छत ढलान गर्न सकिएको छैन । विद्यालय हाताको पर्खाल निर्माणसमेत नहुँदा विद्यालय वरिपरिका जग्गामा लगाइएका कृषकका अन्नबाली विद्यार्थी आवतजावतका कारण नोक्सान हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया