मालद्वीपमा प्रदर्शन रोक्न आह्वान

कोलम्बो : मालद्वीपका प्रमुख प्रतिपक्षी दलले बुधबार ६ महिने सडक प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका छन् । यो प्रदर्शन पूर्वराष्ट्रपति मोहम्मद नशीदलाई राजीनामा दिन बाध्य पारिएको विरोधमा आयोजना भएको हो भने प्रतिपक्षीहरूले त्यसलाई सैनिक विद्रोह ठानेका छन् ।
नशीदको माल्दिभियन डेमोक्रयाटिक पार्टीले हिन्द महासागरमा अवस्थित यो मुलुकमा छिट्टै निर्वाचन गराउन वार्ताका लागि उपयुक्त वातावरण तयार गर्न उक्त सडक प्रदर्शन गरिएको दाबी गरेको छ ।
पूर्वराष्ट्रपति नशीदलाई फेब्रुअरी महिनामा सत्ताच्यूत गरिएपछि राजधानी मालेमा निरन्तर प्रदर्शन भएका छन् । उहाँलाई पदमुक्त गराउन पनि मालेको सडकमा केही सातासम्म प्रदर्शन भएका थिए र त्यसलाई प्रहरीले सहयोग गरेका थियो ।
एमडिपीका प्रवक्ता हमिद अब्दुल घफुरले एक विज्ञप्तिमार्फत आफ्नो पार्टीले मंगलबार एकपक्षीयरूपमा सडक प्रदर्शन रोक्ने निर्णय गरेको बताए । विज्ञप्तिमा राजनीतिक वार्ता नभएसम्म तथा राजनीतिक स्तरमा सहमति नभएसम्म मालद्वीप राजनीतिक संकटबाट बाहिर आउन नसक्ने एमडिपीले विश्वास गरेको बताइएको छ ।
नशीदलाई पूर्वउपराष्ट्रपति मोहम्मद वाहीदले प्रतिस्थापन गर्नुभएको छ । उहाँले तीन लाख ३० हजार सुन्नी मुसलमान भएको यस मुलुकमा छिट्टै निर्वाचन गराउन अस्वीकार गर्नुभएको छ ।
यस मुलुकको राजनीतिक उथलपुथलले यहाँको पर्यटन उद्योगलाई नराम्रोसँग क्षति पुर्‍याएको छ । (एएफपी)

प्रतिक्रिया