फिलिपिन्समा बाढीबाट लाखौं प्रभावित

मनिला, २५ साउन । फिलिपिन्सको राजधानी मनिलावरपर दस लाखभन्दा बढी जनता निरन्तर मनसुनी वर्षाको बाढीबाट प्रभावित भएका छन् भने यहाँका गरिब बस्तीका बासिन्दा घाँटीसम्म आएको पानीमा डुबेका छन् र धनी व्यक्तिहरू घरको छतमा पुगेका छन् ।
मनिलाको करिब ६० प्रतिशत भाग बाढीमा डुबेको छ र वरपरका खेतीभूमि तथा मार्ग पनि डुबेका छन् । केही क्षेत्रमा सडक नै नदीजस्ता देखिएका छन् । मनिलाका बासिन्दाले अन्यत्र जानुपर्दा डुङ्गाको प्रयोग गर्न थालेका छन् । उनले करिब एक करोड ५० लाख जनता बसोबास गर्ने यस महानगरपालिकाको आकाशबाट अवलोकन गरेपछि उक्त कुरा बताएका हुन् । यस साता मनिलामा बाढीका कारण मर्नेको संख्या २० पुगेको अधिकारीहरूले बताएका छन् । जुलाई महिनाको अन्त्यतिर सामुद्रिक चक्रवातले यस मुलुकलाई प्रभावित बनाएपछि यहाँ मर्नेको संख्या ७३
पुगेको छ ।
राज्यको मौसमसम्बन्धी जानकारी दिने संस्थाले गत ४८ घन्टामा २७ इन्च पानी परेको जानकारी दिएको छ । संस्थाले बुधबार राति पनि अझै वर्षा हुने चेतावनी दिएको छ । मनिलावरपर १२ लाख ३० हजार व्यक्ति प्रभावित भएको त्यहाँको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण व्यवस्था परिषद्ले जानकारी दिएको छ । (एजेन्सी)

प्रतिक्रिया