किन रोकियो जनजाति पार्टी घोषणा ?

काठमाडौं, २५ साउन । एमालेका असन्तुष्ट जनजाति नेताहरूको असहमतिपछि आज (बिहीबार) गर्ने भनिएको नयाँ जनजाति पार्टी घोषणा स्थगन भएको छ । जनजातिहरूले डा. चैतन्य सुब्बाको संयोजकत्वमा सामाजिक, लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी घोषणा गर्ने अन्तिम तयारी गरेका थिए ।

विनाआधार र तयारी पार्टी घोषणा गर्न लागेको भन्दै एमालेका असन्तुष्ट जनजाति नेताहरूले असन्तुष्टि जनाएका हुन् । त्रिपुरेश्वरस्थित वल्र्ड ट्ेरड सेन्टरमा बिहीबार बिहान नयाँ पार्टी घोषणा गर्न बोलाइएको कार्यक्रमलाई अन्तरक्रिया कार्यक्रममा परिणत गर्ने सहमति भएको छ । सो कार्यक्रममा सार्वजनिक गर्न लागिएको पार्टीको घोषणापत्रलाई नयाँ पार्टीको प्रस्तावित घोषणापत्र भनेर छलफल चलाइनेछ ।
एमाले पूर्वसभासद् पासाङ शेर्पा, चैतन्य सुब्बा, डा. कृष्ण भट्टचनलगायतको अगुवाइमा बिहीबार पार्टी घोषणा समारोहमा उपस्थित हुन निमन्त्रणा गरिएको थियो । विनापरामर्श पार्टी घोषणा गर्न लागिएपछि बिहीबार अबेर एमाले उपाध्यक्ष अशोक राई, आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा र पार्टी घोषणा गर्न तयारी गरेका नेताहरूबीच अनामनगरस्थित ककसको कार्यालयमा वार्ता भएको थियो । वार्तामा व्यापक बहस र तयारी गरेर मात्रै निर्णय गर्ने सहमति भएको महासंघका महासचिव शेर्पाले बताए ।
‘व्यापक तयारी गरेर नयाँ शक्ति निर्माण गर्ने सहमति भएको छ, भोलि पार्टी घोषणा हुँदैन,’ उनले भने । शेर्पाका अनुसार बिहीबार नयाँ पार्टीका लागि प्रस्तावित घोषणापत्र मात्रै सार्वजनिक हुनेछ ।
करिब एक महिनाअघि भएको आदिवासी जनजातिहरूको राजनीतिक सम्मेलनको निर्णयपछि डा. चैतन्य सुब्बाको संयोजकत्वमा नयाँ राजनीतिक शक्ति निर्माणसम्बन्धी कार्यदल बनेको थियो । कार्यदलमा डा. कृष्ण भट्टचन, महेन्द्र लावती, ज्योति दनुवार, पासाङ शेर्पालगायत जनजाति नेता थिए । सोही कार्यदलले नयाँ पार्टीको घोषणापत्र तयार गरेको थियो । तर, नयाँ पार्टी बनाउने अन्तिम तयारी गरिरहेका एमाले उपाध्यक्ष राईको विचारप्रति समूहले असहमति जनाएको थियो भने जनजातिभित्रैबाट तीव्र विरोध भएको थियो । बुधबार उपाध्यक्ष राई र जनजाति महासंघका महासचिव शेर्पा विर्तामोडमा आयोजित जनजातिसभालाई सम्बोधन गर्न पुगेका थिए । यता, राजधानीमा पार्टी घोषणाका लागि तीव्र तयारी भएपछि दुवै नेता हतारहतार काठमाडौं आएर पार्टी घोषणा स्थगनका लागि पहल गरेका थिए ।
बुधबार साँझ ६ बजे काठमाडौं आइपुगेका उपाध्यक्ष राईसहितका एमाले नेता र पार्टी घोषणा
गर्न लागेका नेताबीच अनामनगरस्थित ककस कार्यालयमा राति १० बजेसम्म वार्ता भएको थियो । एमाले उपाध्यक्ष राईसहितका नेताले दुवै समूहबीच व्यापक तयारी गरेर चाँडै पार्टी घोषणा गर्ने प्रतिबद्धता जनाएपछि जनजाति नेताहरू पार्टी घोषणा स्थगन गर्न सहमत भए ।
नयाँ राजनीतिक शक्ति निर्माणसम्बन्धी कार्यदलका संयोजक डा. चैतन्य सुब्बाका नाममा रहेको निम्तो पत्रमा ‘नयाँ पार्टी घोषणा कार्यक्रम’ भनिएको थियो । ‘सामाजिक, लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी स्थापनासम्बन्धी घोषणासभा–०६९ को पावन अवसरमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु’ निम्तो पत्रमा भनिएको थियो ।

के हो विवाद ?
एमाले उपाध्यक्ष राईसहितका जनजाति नेता व्यापक छलफल र तयारी गरेर मात्रै पार्टी बनाउने योजनामा छन् । तर, एमाले पूर्वसभासद् पासाङ शेर्पासहितका जनजाति अभियानकर्मी भने तत्काल पार्टी बनाएर जानुपर्ने अडानमा थिए । उपाध्यक्ष राईसहितका नेताले पार्टी घोषणामा ढिलाइ गरेपछि उनीहरू असन्तुष्ट थिए ।
पार्टी निर्माणका लागि दबाब दिनकै लागि उनीहरूले विनाछलफल पार्टी घोषणाको तयारी गरेर सबैलाई निम्तो बाँडेका थिए । पार्टी बनाउनमा सबै सहमत भए पनि कहिले बनाउने भन्ने विषयमा सामान्य फरक बुझाइ रहेको आदिवासी जनजाति महासंघका महासचिव शेर्पाले बताए । ‘बाहिर आएजस्तो केही विवाद छैन, पार्टी बनाउनुपर्छ भन्नेमा सबै एकमत छौँ,’ उनले भने, ‘साथीहरूले अलि हतार गर्नुभएको मात्रै हो ।’ पार्टी घोषणा अभियानमा लागेका नेताहरूले भने नयाँ पार्टी बनाउने शीर्ष नेताहरूको प्रतिबद्धतापछि घोषणा रोकिएको बताए ।

को हुन् चैतन्य सुब्बा ?
समाजशास्त्रमा पिएचडी गरेका सुब्बा पञ्चायतको पतनपछि नेपाली कांग्रेसमा आबद्ध थिए । उनी ०५३ सालमा कांग्रेसकै सिफारिसमा स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति विकास समितिका निर्देशक बनेका थिए । यस्तै ०६३ मा कांग्रेसकै सिफारिसमा योजना आयोगका सदस्य भएका थिए । यसअघि उनी पञ्चायतकै युवा संगठनमा लामो समय काम गरेका थिए । उनले आदिवासी जनजाति महासंघले सञ्चालन गरेको जनजाति सशक्तीकरण परियोजनाका कार्यक्रम प्रमुख भएर समेत काम गरेका थिए । उनले अहिलेसम्म सरकारी नियुक्ति र जातीय परियोजनाको कामबाहेक अन्य सक्रिय राजनीतिक संगठनमा काम गरेका छैनन् ।

प्रतिक्रिया